१४ बैशाख २०८१, शुक्रबार
Follow Us

व्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७६, शुक्रबार ०८:५१

जनसहभागितामा तनहुँको व्यास नगरपालिका–३ मा किरियापुत्री भवन निर्माण गरिएको छ । मृत्यु संस्कारका लागि आवश्यकता महसुस गरी मादीसेती नदीको सङ्गमस्थल व्यास गुफा नजिकै भवन निर्माण गरिएको हो ।

विसं २०७५ वैशाख १४ गतेदेखि निर्माण थालिएको भवन अन्तिम चरणमा पुगेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिनुभयो । नगरपालिकाका र जनसहभागितामा निर्माण शुरु गरिएको भवनका लागि हालसम्म रु ६३ लाख ९३ हजार ११४ खर्च भएको छ ।

भवन निर्माणका लागि नगरपालिकाले रु ३६ लाख ७६ हजार ७९७ सहयोग गरेको छ भने सर्वसाधारणबाट रु ३६ लाख ६८ हजार ८०९ सङ्कलन भएको समितिका अध्यक्ष लम्सालले जानकारी दिनुभयो । समितिसँग बैंकमा रु नौ लाख ५२ हजार ४९२ मौज्दात छ ।

दुई हजार ९०० वर्गफिट क्षेत्रफलमा फैलिएको भवनमा कुरुवा बस्ने कक्षबाहेक आठ कोठा रहेका छन् । भवनमा विद्युत् र खानेपानी जडानको काम बाँकी छ । भवन निर्माणको काम शुरु भएपछि सर्वसाधारणबाट सहयोग आउन थालेपछि निर्माणमा आर्थिक अभावको महसुस नभएको लम्सालले बताउनुभयो ।

“शहरिया साँघुरो र घना बसाइँ व्यवस्थायुक्त हाम्रो रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढङ्गले सम्पन्न गर्न कठिनाइ भएको महसुस गरी भवन निर्माण गरिएको हो”, लम्सालले भन्नुभयो, “शहरिया बसोबासले कतिपय आधुनिक सेवा सुविधा प्रदान गरे पनि धार्मिक सामाजिक क्रियाकलापमा असुविधाको अवस्था सिर्जना गरेको छ ।”

भवन निर्माणका लागि नेपालभित्रबाट मात्र नभई विदेशबाट समेत सहयोग आएको समितिका सचिव कृष्ण सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ घर भई अमेरिकामा रहेका नेपालीबाट भवन निर्माणका लागि उल्लेख्नीय रकम सङ्कलन भएको छ ।

भवन निर्माणका लागि सबैभन्दा बढी बन्दीपुर घर भई हाल चितवन बस्ने धु्रव प्रधानले रु पाँच लाख दुई हजार सहयोग गर्नुभएको छ । अमेरिकामा रहेका नेपालीबाट करीब रु सात लाख सङ्कलन भएको छ भने बन्दीपुर भीमसेन गुठीले रु पाँच लाख सहयोग गरेको समितिले जनाएको छ ।

अति नै आवश्यकताको रुपमा रहेको किरियापुत्री भवनले दमौली बजारको एउटा आवश्यकता पूरा गर्न सफल भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । सबै जातजाति, धर्म, सम्प्रदायबाट सहयोग प्राप्त हुनु सकारात्मक रहेकाले नगर प्रमुख बैकुण्ठ न्यौपानेले भवन सञ्चालनको जिम्मेवारी कसले लिने भन्ने बारेमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।