१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्रान्तिकारी पत्रकारहरुले जलाए मिडिया काउन्सील विधेयक

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७६, शुक्रबार १७:०५

काठमाडौं । प्रहरी हस्तक्षेपका बाबजुद क्रान्तिकारी पत्रकारहरुले मिडिया काउन्सील विधेयक जलाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशको आयोजनामा माइतीघर मण्डलामा मिडिया काउन्सील विधेयक जलाएको हो । ‘मिडिया काउन्सील विधेयक – खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर, पत्रकारमाथिको बढ्दो आक्रमण बन्द गर, पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर, सम्पूर्ण प्रेस विरोधी ऐन कानुनहरु खारेज गर” जस्ता नारा लेखिएका प्ले–कार्डसहित विरोध प्रदर्शनमा उत्रिएका क्रान्तिकारी पत्रकारहरुले मिडिया काउन्सील विधेयक जलाउनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
विरोध प्रदर्शनमा बरिष्ठ पत्रकार तथा क्रान्तिकारी पत्रकार महासंघका पूर्व अध्यक्ष कुमार शाह, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, महासंघका सचिव तथा ३ नं. प्रदेश संयोजक रनसुर महतरा, सचिव अनु निरौला लगायत संगठनका केन्द्रीय सदस्यहरु, प्रदेश तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।
महासंघका नेताहरुले नेपाल पत्रकार महासंघको जारी आन्दोलनको समर्थन, ऐक्यबद्धता तथा खबरदारीको लागि बुटवलमा हालै सम्पन्न राष्ट्रिय सम्मेलनले गरेको निर्णय अनुसार मिडिया काउन्सील विधेयक जलाएको जनाएका छन् । क्रान्तिकारी महासंघले यसअघि सम्मेलन लगत्तै बुटवलको मिडिया चोकमा मिडिया काउन्सील विधेयक जलाएको थियो । महासंघले ७ वटै प्रदेशमा विधेयक जलाउने निर्णय गरेको छ ।
मिडिया काउन्सील विधेयक खारेजी तथा फिर्ताको लागि यतिखेर सिंगो प्रेस जगत आन्दोलित छ । नेपाल पत्रकार महासंघको नेतृत्वमा भोलि बबरमहलबाट नयाँ बानेश्वरसम्म हाते साङ्लो ¥याली निकाल्ने कार्यक्रम रहेको छ । महासंघको हाते साङ्लो ¥यालीमा सक्रिय सहभागिताका लागि क्रान्तिकारी पत्रकार महासंघले आफ्ना सदस्यहरुलाई निर्देशेन समेत दिएको छ ।