११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रतिकूल अवस्थामा प्रधानमन्त्रीको बेलायत भ्रमण

sarusaru
२५ जेष्ठ २०७६, शनिबार ०२:५६

ध्रुवराज अर्याल। लन्डन : पहिलो कूटनीतिक सम्बन्ध भएको मुलुक बेलायतमा १७ वर्षपछि नेपालबाट प्रधानमन्त्रीस्तरको भ्रमण हुँदै छ । तर, ब्रेक्जिट प्रकरणले यहाँ राजनीतिक अस्थिरता निम्त्याएका बेला प्रधानमन्त्री केपी ओलीको भ्रमण तय भएको हो ।

प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणमा निस्किँदै छन् । स्विट्जरल्यान्डमा अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा सहभागी भई उनी सोमबार लन्डन आइपुग्नेछन् । यहाँ तीन दिन रहेर प्रधानमन्त्री फ्रान्स जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो गर्ने बेलायती प्रधानमन्त्री टेरिसा मे सरकारबाट बाहिरिने क्रममा छिन् । उनले प्रधानमन्त्री पदबाट औपचारिक राजीनामा दिइसकेकी छैनन् तर सत्तारुढ पार्टीको नेताबाट हटेकी छन् । नयाँ प्रधानमन्त्रीका लागि नेता चयन गर्न उनले बाटो खोलेकी छन् ।

‘नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमणका लागि यो गलत समय हो । यसबाट खास उपलब्धि अपेक्षा गर्न सकिँदैन’, गत निर्वाचनमा लेबर पार्टीबाट सांसद उम्मेदवार बनेका डा. बच्चुकैलाश कैनी भन्छन्, ‘ब्रेक्जिट प्रक्रिया गतिरोधमा फसेको छ । सत्तारुढ पार्टी र देशको सिंगो राजनीतिमै हलचल आउने गरी ध्रुवीकरण छ । यो अस्थिरताबीच नेपालका प्रधानमन्त्रीको भ्रमण बेलायतकोे प्राथमिकतामा पर्न सक्दैन ।’

प्रधानमन्त्री ओलीले मंगलबार १० डाउनिङ स्ट्रिटमा बेलायती समकक्षी मेसँग भेट्ने कार्यक्रम छ । तर, नेपाल र बेलायतबीच ठूलो ‘डिल’ हुने सम्भावना देखिएको छैन । अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी ओलीको भ्रमण सद्भावनामै सीमित रहने बताउँछन् । लामो समयपछि नेपालका प्रधानमन्त्रीबाट बेलायतको भ्रमण हुनु सुखद भए पनि अस्थिर राजनीतिलगायत अवस्थाले खल्लो बनाइदिएको उनको बुझाइ छ । ‘नेपालले यो अवसरलाई सक्दो सदुपयोग गर्ने कोसिस गर्नुपर्छ’, ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलका अध्यक्षसमेत रहेका डा. अधिकारी भन्छन्, ‘कुनै ठूलो र नयाँ सम्झौता सम्भव नभए पनि ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान, दुई देशबीचको व्यापार तथा लगानी सम्बन्ध विस्तार, बेलायती सहयोग वृद्धिलगायत विषयमा नेपालले यो भ्रमणलाई उपलब्धिपूर्ण बनाउन सक्छ ।’

ब्रिटिस गोर्खा सैनिकका समस्या समाधान, दुई देशबीचको व्यापार तथा लगानी सम्बन्ध विस्तार, बेलायती सहयोग वृद्धिलगायत विषयमा नेपालले यो भ्रमणलाई सदुपयोग गर्न सक्ने ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध २ सय वर्ष पुरानो भइसक्दा पनि कुनै बेलायती प्रधानमन्त्री नेपाल भ्रमणमा गएका छैनन् । नेपालका प्रधानमन्त्री बेलायत आएको अवस्थामा यहाँका समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिनु उपयुक्त अवसर बन्न सक्थ्यो । तर, सरकारबाट बाहिरिन लागेका कारण यसपटक निमन्त्रणा व्यावहारिक नहुने सरोकारवाला बताउँछन् । भ्रमणकै समय बेलायतमा प्रधानमन्त्रीको बहिर्गमन र अस्थिर राजनीतिको प्रतिकूल संयोग बनेको दूतावासका अधिकारीको भनाइ छ ।

मेले पदबाट औपचारिक राजीनामा नदिएकाले प्रधानमन्त्रीको भ्रमणलाई असर नपर्ने नेपाली दूतावासका उपप्रमुख एवं प्रवक्ता शरदराज आरन बताउँछन् । ‘उहाँ (मे)ले आफ्नो पार्टीको नेताबाट राजीनामा गर्नुभएको हो । महारानीसमक्ष प्रधानमन्त्री पदबाटै राजीनामा दिनुभएको छैन’, उनी भन्छन् । उनका अनुसार सामान्य अवस्थाकै प्रधानमन्त्रीका रूपमा दुई समकक्षीबीच वार्ता हुनेछ ।

गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य पनि बेलायतको राजनीतिक अवस्थाले नेपालका प्रधानमन्त्रीको भ्रमणका उपलब्धि प्रभावित नबन्ने आशा राख्छन् । ‘बेलायतमा अहिलेको सरकारले जुन सम्झौता गर्छ त्यसलाई अर्को सरकारले उल्टाउने काम गर्दैन’, उनी भन्छन्, ‘उनीहरूको रेकर्डमा पर्ने सबै निर्णय र सम्झौतालाई भावी सरकारले कार्यान्वयन गर्नेछ ।’

बेलायतमा दलका नेताबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री दलभित्र खोजिन्छ । दलमा कुरो नमिले मात्र निर्वाचन हुन्छ । दलका नेताबाट राजीनामा गरेपछि महारानीसमक्ष नबुझाए पनि जनप्रतिनिधित्वको हैसियत गुमेको हुन्छ । बेलायती महारानी एलिजावेथले दुईपटक नेपाल भ्रमण गरेकी थिइन् । राजकुमार चाल्र्स पटक–पटक नेपाल भ्रमणमा गए । राजकुमारी डायना पनि नेपाल भ्रमणमा गएकी थिइन् । उनका छोरा ह्यारी पनि नेपाल गए ।

अन्नपूर्ण पोष्ट