७ बैशाख २०८१, शुक्रबार
Follow Us

भ्रष्टाचार मुद्दामा गलत अभियोजन : पीडितलाई नुनचुक, पीडकलाई उन्मुक्ति

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार ०२:५९

काठमाडौँ – विभिन्न निकायमा हुँदा संस्थागत कामकारबाहीमा सुधारका काम गरेका पूर्वसचिव शरदचन्द्र पौडेल झूटो मुद्दा नलागेको भए कुनै मन्त्रालयको नेतृत्व गरी उल्लेखनीय काम गर्न सक्ने प्रशासनिक अधिकारीमा गनिन्थे । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको बदनियतपूर्ण निर्णयका कारण उनले अनाहकमा भ्रष्टाचार मुद्दा खेप्नुपर्‍यो । पछि विशेष अदालतबाट सफाइ पाएर काममा फर्किएको केही महिनामै उनले आवकाश पाए ।

अर्का उदाहरण हुन् शाखा अधिकृत सञ्जय नेपाल । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत रहँदा उनी वैदेशिक रोजगार विभागका एक कर्मचारीको बदनियतको सिकार बने । विशेष अदालतबाट सफाइ पाए तर त्यस अवधिमा अनावश्यक यातना खेप्नुपरेको र वृत्तिविकासमा अवरोध भएको भन्दै उनले लेख नै प्रकाशित गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत ६ जना चिकित्सक यस्तै झूटो अभियोजनको मुखबाट जोगिएका थिए । तत्कालीन निमित्त डिन विमल सिन्हा, जगदीश अग्रवाल, शरद वन्त, मधु देवकोटा, कृष्ण केसी, दिनेशविनोद पोखरेल र कर्मचारी राजदेवी अधिकारीमाथि लोकमानको दबाबमा सुरु भएको कारबाही प्रक्रिया सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको थियो ।

‘असल नियतसाथ गरिएको अभियोजन पछि गएर अदालतबाट झूटो ठहरियो भने आरोपितले अनेक झन्झट र हैरानी खेप्नुपर्ने हुन्छ, त्यसतर्फ पहिल्यै विचार पुर्‍याउनुपर्छ,’ विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘बदनियतसाथ दायर हुने अभियोजन र आरोपले शंका गरिएको व्यक्तिलाई त पिरोल्छ नै, त्यस्ता राज्यका निकायलाई पनि विवादमा तान्छ ।’ लोकमान प्रमुख हुँदा अख्तियारले दर्जनौं यस्ता व्यक्तिलाई अनाहकमा सास्ती र यातना दियो । यीमध्ये कतिपय मुद्दामा विशेष अदालतले नेतृत्वको बदनियत र स्वेच्छाचारिताका कारण झूटो मुद्दा लगाइएको भनी न्यायिक टिप्पणी लेखेको छ । कान्तिपुरमा खबर छ ।