१५ चैत्र २०८०, बिहीबार
Follow Us

एसिड प्रहारबाट गम्भीर घाइते

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार ११:४८

महोत्तरीको बर्दिवासमा एक जना किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा –२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् । शुक्रबार १० बजे तिर राती बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवास ले जनाएको छ ।
मुखिया बर्दिवासचोकमा खानेपानी बोतल, कवाडी समान (सडकमा मिल्किएका पानीका बोतल, फलामे तार र मिल्किएका लोहालक्कड) बेच्ने पेशाका हुन् । मुखियालाइ शुक्रबार बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
मुखिया लोहालक्कड बटुल्दा कतिपय पसलमै पसेर चोरेर भाग्ने गरेको गुनासो व्यापारीले गर्दै आएको प्रहरीले जनाएको छ । यसअघि कैंयौपटक मुखियालाइ प्रहरीले नियन्त्रणमा लिएर यस्ता घटनाबारे सोधपुछ गर्दै आएको प्रनि साहले बताए । मुखियाको सङ्गत ठिक नरहेको आमा जयकलादेवीले पनि स्वीकार गरेकी छन् । मुखियाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सक डा. सीताराम पराजुलीले जानकारी दिए ।