१५ बैशाख २०८१, शनिबार
Follow Us

राधे भण्डारीलाई तत्काल रिहा गर्न माग, ‘किर्ते कागज’ बनाएर फसाउन खोजेको तरुण दलको आरोप

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार ११:५४

काठमाडौं । नेपाल तरुण दलले आफ्ना धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण९राधे० भण्डारीलाई बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी तरुण दलले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको भन्दै रिहा गर्न माग गरेको छ ।

तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए ।

भण्डारीविरुद्ध किटानी चाहेरी दिएको भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे ।

कार्यक्रममा निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले किटानी जाहेरी दिएको भनिएका व्यक्तिले नै घटनामा भण्डारीको संलग्नता नरहेको भन्दाभन्दै पनि पक्राउ गर्नु राजनीतिक प्रतिशोध मात्र भएको बताए ।

यही जेठ २२ गते धादिङको रोराङ गाउँपालिकामा स्थानीय बासिन्दाबीच भएको विवादमा भण्डारी पनि संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रदेश ३ प्रहरीले हिजो पत्रकार सम्मेलन गरी स्थानीयलाई धम्क्याएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको थियो ।

भण्डारी यसअघि गुण्डा नाईके चरीलाई गोली हान्ने अभियोगमा केही समय जेल बसेर निस्किएका व्यक्ति हुन् ।