१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लोकतन्त्रको नाममा सर्वसत्तावाद हावी भयो – अध्यक्ष थापा

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार १२:२९

म्याग्दी । राप्रपाका अध्यक्ष कमल थापाले परिवर्तनलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन संस्कृतिलाई विस्थापित गरेर धर्म निरपेक्षता लाद्ने र नेपालको एकीकरण देखि प्रजातन्त्रको स्थापना गर्ने राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेयताका १३ वर्षको अवधिको स्वच्छ मूल्याङकन गर्ने हो भने मुलुकको अवस्था झन् जर्जर र भयानक भएको बताउनुभएको छ ।

स्वाभिमान यात्राको क्रममा म्याग्दीको सदरमुकाम वेनीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु, हिन्दु, बौद्ध र किरात धर्मप्रति लक्षीत गरि सुनियोजित र योजनाबद्ध ढंगबाट धर्म परिवर्तन गराइनु, देश निर्माणमा लगाइनुपर्ने युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाडी र मलेसियाको जंगलमा जान वाध्य बनाइनु जस्ता कार्यले मुलुकलाई अस्थिरतातर्फ धकेलेको भन्दै कसैको निहित स्वार्थपूर्तिको लागि परिवर्तनको नाममा संस्थागत गरिएका विसंगतीहरुलाई सच्याउनुपर्ने समय आइसकेको बताउनुभयो ।

प्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउनुपर्ने भन्दै अध्यक्ष थापाले जनयुद्धको नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएकोले गलत मार्गको प्रयोग गरि परिवर्तनको नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।
परिवर्तनको नाममा बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्ने र बन्दुक बोकाउनेहरु अर्बपति भएको यथार्थ बाहेक मुलुकमा कुनै पविर्तन नभएको भन्दै अध्यक्ष थापाले लोकतन्त्रको नाममा सर्वसत्तावाद हावी भएको जिकिर गर्नुभयो ।
राप्रपा म्याग्दीका जिल्ला अध्यक्ष विर बहादुर थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष भिम प्रसाद गौचन, प्रवक्ता भुवन पाठक, गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङ, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, वेनी नगरपालिकाका उपमेयर सञ्जु वरुवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।