१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली लण्डन देखी पेरिस सम्म रेलमा जाने

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार १३:१४

लण्डन। प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमणका लागि (शनिबार) साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन् ।

अगामी सोवार साँझ प्रधानमन्त्री ओली बेलायत आउने कार्यक्रम छ । उनले अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ भने उनले बीबीसी वर्ल्ड सर्भिसलाई अन्तर्वार्ता दिनेछन् । बेलायतमा रहँदा प्रधानमन्त्री ओलीले समकक्षी टेरिजा मेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधवार लण्डन देखी युरोस्टर रेल चढेर उनी फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ । साँझ ५ बजे पेरिसमा हुने कार्यक्रममा सहभागि हुन् समय अभावका कारण हवाई मार्ग भन्दा रेलबाट जाँदा छिटो हुने भएको कारणले उनी रेल चढेर जाने भएका हुन् । सो यात्रा २ घण्टा १६ मिनेटको हुनेछ ।

प्रधानमन्त्रीले पेरिसमा उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । फ्रान्समा रहँदा जेठ १३ गते प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी एडुवार्ड फिलिपेसँग दुईपक्षीय हितका विषयमा कुराकानी गर्नेछन् । साथै त्यहाँका व्यापारी तथा लगानीकर्ताहरुसँग प्रधानमन्त्री ओलीको भेटघाट कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पत्नी राधिका शाक्यसहित, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलगायत २० जनाको नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली साँझ साढे ७ बजे युरोपका लागि जहाज चढ्दैछन् । टोलीमा ट्रेड युनियनका प्रतिनिधिहरु, सांसदलगायत सहभागी हुँदैछन् ।

प्रधानमन्त्री ओली आइतबार स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को साधारणसभामा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने छ ।

जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति फौत ओक्ते र नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गसँग भेटवार्ता गर्नेछन् । त्यस्तै स्वीट्जरल्याण्डका पूर्व संघीय काउन्सीलर एवम् संघीय गृह विभागका प्रमुख अलाईन बर्सेटसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही अबसरमा प्रधानमन्त्री ओली आईएलओका महानिर्देशकले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछन् ।

ओलीको भ्रमण टोलीमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलगायत सहभागी हुनेछन् ।
नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।