८ बैशाख २०८१, शनिबार
Follow Us

घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा भट्टराई

sarusaru
२६ जेष्ठ २०७६, आईतवार ०१:५७

बनेपा । पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उनले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताए।

विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक/शिक्षिका लाग्नुपर्नेमा उनले जोड दिए। उनले भने,‘आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक/शिक्षिका हुन्। पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उनीहरुले गर्नुपर्दछ।’

कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पुर्याउन नसक्ने उल्लेख गर्दै उनले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा जोड दिए। उनले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गए।

प्रयोगात्मक शिक्षाको खाँचो रहेको र त्यससँगै सांस्कृतिक मुल्य मान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउन आवश्यक रहेको उनको भनाइ छ। काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शिक्षक जसले शिक्षा दिएर विद्यार्थीलाई शक्तिशाली बनाउने भएकाले उनीहरुको आदर गर्ने बानीको विकास गर्नुपर्ने बताए। उनले अभिभावकलाई पनि गुणस्तरीय शिक्षा दिनमा नै जोड गर्न आग्रह गरे।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरभित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गुणस्तर अभिवृत्तिका काम भइरहेको बताए।

विद्यालयका सञ्चालक रामेश्वर थापाले शिक्षामा आमूल परिवर्तन आइसकेको अवस्थामा विद्यालय र विद्यार्थीको शिक्षामा अबका दिनमा थप सहयोग आवश्यक रहेको बताए। सो अवसरमा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजन मानन्धरले उपलब्ध गराएको ११ स्मार्ट टेलिभिजन सेट नगरभित्र रहेका सामुदायिक विद्यालय र सोही विद्यालयलाई हस्तान्तरण गरिएको छ।

स्मार्ट टेलिभिजन प्राप्त गर्ने विद्यालयमा भालेश्वर माध्यमिक विद्यालय, कुशादेवी माध्यमिक विद्यालय, पुण्य माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, पाठशाला आधारभूत विद्यालय र इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय रहेका छन्। सो अवसरमा विद्यालयले शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई समेत सम्मान गरिएको छ।
डिसी नेपाल