१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन : नेता पौडेल

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार ०६:२१

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाउनुभयो ।

विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको छ भन्नुभयो ।
काङ्ग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गर्नुभयो । गाउँमा नै बसौँबसाँै बनाउने काङ्ग्रेसको अभियान अझै पूरा हुननसकेको बताउँदै उहाँले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार राख्नुभयो ।

जनतालाई साथमा लिएर काङ्ग्रेसले भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन शुरु गर्ने बताउँदै पौडेलले त्यसका लागि जनता जागरुक हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “दोस्रो चरणको अभियान प्रचारमुखी होइन, सङ्गठनमुखी हुनुपर्छ, तल्लो तहदेखि नै काङ्ग्रेसलाई मजबुत बनाउने सशक्त अभियान दोस्रो चरणमा आउँदैछ ।”

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टीको रुपमा काङ्ग्रेस पुनःजीवित हुने दाबी गर्नुभयो ।
वैशाख २५ गतेदेखि शुरु भएको जागरण अभियानअन्तर्गत तनहुँका दश स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको थियो ।

जनताको अभिमतको कदर सरकारले गरेन : नेता भण्डारी

यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले सरकारले जनाताको अभिमतको कदर गर्न नसकेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसले सञ्चालन गरेको एक महीने राष्ट्रिय जागरण अभियानको बागलुङमा शनिबार समापन गर्दै इतिहासमै बढी जनमत प्राप्त गरेको सरकारले मतको सदुपयोग गर्न नसकेको आरोप लगाउनुभयो । पूर्व वनमन्त्रीसमेत रहनुभएका भण्डारीले सरकारको गतिविधिको कारण लोकतन्त्र खतरामा परेको जिकिर गर्नुभयो ।

नेपालमा समृद्धि आउन नदिने शक्तिबाट सरकार परिचालित भएको उहाँले दाबी गर्नुभयो । जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा एक महीनाका लागि बागलुङ आउनुभएका भण्डारीले जिल्लामा घुम्दा बागलुङ जिल्ला कृषि, पर्यटन, जलविद्युत्को प्रशस्तै सम्भावन रहेकाले त्यसको सदुपयोग गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने विचार व्यक्त गर्नुभयो ।

काँग्रेसले वैशाख २५ गते देशभरि एकसाथ शुरु भएको जागरण अभियान शनिबार सरकारविरुद्ध प्रदर्शन गर्दै समापन भएको छ । पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।