१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूकेको अध्यक्षमा प्रेम गाहा मगरको दावी

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार २१:२०

लण्डन । गैरआवासीय नेपाली संघ युके (एनआरएनए) को अध्यक्षमा प्रेम गाहा मगरले उम्मेदवारी दिने भएका छन् । एनआरएन युकेका उपाध्यक्ष समेत रहेका मगरले आइतवार एक पत्रकार सम्मेलन गर्दै आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मगरले अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा मार्फत विभिन्न २६ बुंदामा चुनावी प्रतिबद्धताहरु समेत सार्वजनिक गरेका छन् ।

चुनावी प्रतिबद्धतापत्रमा गाहा मगरले एनआरएन यूकेको सदस्यता संख्या २० हजार पुर्याउने, संस्थाका सदस्यहरुलाई आवश्यक सहयोग तथा परामर्श सहज उपलब्ध गराउन स्थायी कार्यालय स्थापना गरी एक पुर्णकालीन कर्मचारी व्यवस्था गर्ने, आपतकालीन कोषमा ५० हजार पाउण्ड जम्मा गराउने, नेपाल हाउस प्रोजेक्टका लागि आवश्यक कोष जुटाउने लगायतका महात्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अगुवा र पत्रकारहरुमाझ उनले सबल र प्रतिबद्ध नेतृत्वमार्फत एनआरएन यूकेलाई नयाँ उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तव्य दिएका थिए ।

संघको आगामी सेप्टेम्बर १४ मा हुने निर्वाचनको लागि एनआरएन युके सदस्यता खुल्ला गरे लगत्तै मगर आफ्नो दावी प्रस्तुत गरेका हुन् । एनआरएन युकेको सदस्यता लिने अन्तिम मिति जुलाई ३१ तारिखको लागि तोकिएको छ ।

जुलाई पहिलो साता घोषणा गर्छु: शेर सुनार
एनआरएन युकेका अर्का उपाध्यक्ष शेर सुनारले आगामी जुलाई पहिलो साता आफुले औपाचारिक रुपमा अध्यक्षको लागि उम्मेदवारी घोषणा गर्ने भएका छन् । सुनार आइतवार साँझ नेपालब्रिटेन डट कमलाई भने ‘अरु साथीहरुले सके पछि मैले छुट्टै तरिकाले उम्मेदवारी घोषणा गर्छु’ । सुनारले आफु सदस्यता वितरणमा व्यस्त रहेको वताउँदैं जनस्तरमा निकै राम्रो रेस्पोन्स पाएको वताए ।

यस्तै एनआरएन युकेकी उपाध्यक्ष पुनम गुरुगंले जुलाई २३ तारिख आइतवार एक पत्रकार सम्मेलन मार्फत अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी छन् ।