८ बैशाख २०८१, शनिबार
Follow Us

महानगरको २१ कित्ता जग्गा गायब

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७६, सोमबार ०३:१३

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो।

उक्त जग्गाको लगत आर्थिक वर्ष २०६७/६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो। त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सोसम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन। निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ। खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिका नाममा खुलेको पुगेको हो।

वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीको सचिवालयले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै २१ कित्ता जग्गाको कागजात उपलब्ध गराउन माग गरेको छ। ‘मैले सबै जग्गाको विवरण हाम्रो प्रमुख प्रशासकीय अधिकृतमार्फत माग गरेको छु। उहाँले सम्बन्धित शाखाहरुलाई लेख्नुभएको छ तर मेरो हातमा अहिलेसम्म विवरण आइपुगेको छैन,’ नगरप्रमुख सरावगीले भने, ‘जग्गाको वास्तविक अवस्था के रहेछ भन्ने थाहा हुने लगत र विवरण प्राप्त भएपछि त्यसलाई बोर्डमा लगेर छलफल गर्ने कुरा थियो। लगत नै पाइएन। यसले जग्गा हिनामिना भएको शंका अझ बलियो हुँदै गएको छ।’ उनले विषय गम्भीर देखिएकाले बोर्ड बैठकबाट कसरी अगाडि बढ्ने भन्ने तय गरिने बताए। नागरिक दैनिकमा खबर छ ।