७ बैशाख २०८१, शुक्रबार
Follow Us

सेनाको ट्र्याकसुट खरिद, नियमविपरीत दररेट बढी राख्ने फर्म छनोट

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७६, मंगलवार ०३:०६

काठमाडौं। नेपाली सेनाले खरिद गर्न लागेको पोसाक खरिदको छनोट प्रक्रियामा सार्वजनिक खरिद ऐन मिचेर टेन्डर दिएको पाइएको छ । नेपाली सेनाले ट्र्याक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ ।नेपाली सेनाको सैनिक सामग्री प्र्राप्ति निर्देशनालयका निर्देशक सहायक रथी योगराज शर्माले हस्ताक्षर गरेको पत्रमा टेन्डर आह्वानमा दररेट कम राखेर बोलपत्र दिने फर्मलाई नराखी धेरै राख्ने फर्म छनोट गरिएको छ । नेपाली सेनाले ९६ हजार ७६६ ट्र्याक सुटका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो ।

सहभागी आठवटा फर्ममध्ये सैनिक सामग्री प्राप्ति निर्देशनालयले श्लोक इन्टरप्राइजेज फर्मका प्रोपाइटर रितेश अग्रवालले हालेको १ हजार ५५१ रुपैयाँको दररेटलाई छनोट गरेको छ । उनले हालेको बोलपत्रअनुसार १५ करोड ८४ हजार ६० रुपैयाँमा नेपाली सेनाको ट्र्याक सुट खरिदका लागि प्र्रभावकारी देखिएको भन्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) बमोजिम आशयपत्र सैनिक निर्देशनालयले दिएको थियो । अग्रवालले दुई फरक फर्मबाट पोसाक खरिदका लागि टेन्डर हालेका थिए । उनले हालेको एस के फर्म पनि रितेश अग्र्रवालकै नाममा रहेको छ । एसके ट्रेडर्स फर्मबाट उनले १ हजार ५८६ रुपैयाँ दररेटमा १५ करोड ३४ लाख ७० हजार ८७६ रुपैयाँसहितको टेन्डर हालेका थिए । राजधानी दैनिकमा खबर छ ।