८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाको मेरिल्याण्डमा नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७६, मंगलवार ०९:१२

विगत दुई बर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा हुँदै आएको नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव यसबर्ष जुन २८ शुक्रबार देखि जून ३० आइतबार हुने भएको छ । महोत्सवको सुरुवात नेपाली चलचित्र बुलबुलको प्रदर्शनबाट हुने भएको छ । महोत्सवमा बुलबुलका निर्देशक बिनोद पौडेलको उपस्थिति रहने छ । साथसाथै महोत्सवमा “गुडबाइ काठमाडौँ” का निर्देशक नबिन सुब्बा, “कालो पोथी” का निर्देशक मिन बहादुर वाम तथा वासिंगटन डिसि क्षेत्रमा रहेका नेपाली कलाकारहरूको उपस्थिति रहने महोत्सवका प्रमुख पूर्ण सिंह बराइलीले बताए ।

महोत्सवको अन्त्य नेपाली चलचित्र “कथा ७२” बाट हुने भएको छ । महोत्सवमा नेपाली मात्र नभएर विभिन्न देशका उत्कृस्ट चलचित्रहरू प्रदर्शन हुने र फिल्महरू सम्बन्धि छलफल कार्यक्रमहरू पनि गरिने आयोजकको वेबसाइटमा उल्लेख गरिएको छ ।नेपाली डायस्पोरामा रहेका व्यक्तिहरूलाई नयाँ चलचित्र बनाउने कुनै अभिप्राय भए छलफल गर्न “नयाँ फिल्म फोरम” पनि आयोजना गरिने भएको छ ।

महोत्सवको आयोजनालाई मेरिल्याण्ड फिल्म अफिस, प्रिन्स गर्ज काउन्टी पार्क एंड रिक्रिएसन अफिस तथा अन्य नेपाली व्यवसाय तथा व्यक्तिहरूले आर्थिक सहयोग गर्ने भएका छन् ।

महोत्सवमा प्रदर्शन भएका चलचित्रहरू मध्येबाट उत्कृष्ट चलचित्रलाई सम्मान गरिने छ । उत्कृष्ट चलचित्र छान्ने निर्णायक मण्डलीमा मिन बहादुर वामको अधक्षता रहने छ भने चर्चित महिला चलचित्रकर्मी रेबेका बुस्टामाण्टे र मिमी माकाडो-लुसीको पनि सहभागिता रहने छ ।

पहिलो बर्ष २०१७ मा चलचित्र Serdhak – The Golden हिल उत्कृष्ट बनेको थियो भने दोश्रो बर्ष २०१८ मा “बिजुली मेसिन” उत्कृष्ट चलचित्रमा बिजयी भएको थियो ।

नेपाली चलचित्र, कला, संस्कृती र कलाकारहरूलाई विश्वसंग जोड्न उक्त चलचित्र महोत्सवको सुरुवात गरिएको नेपाली आयोजक नेपाली अमेरिका चलचित्र समाजले बताएको छ ।