११ बैशाख २०८१, मंगलवार
Follow Us

गिरानचौरको एकीकृत नमुना बस्ती राष्ट्रपतिबाट हस्तान्तरण हुँदै

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार ०५:२२

मेलम्ची । मेलम्ची नगरपालिका¬–८ स्थित गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती आज सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गर्न लागिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती अबको केहीबेरमा हस्तान्तरण गर्दै हुनुहुन्छ । रु पाँच करोड १४ लाख ४९ हजार १८७ को लागतमा निर्माण भएका ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिनुभयो ।

स्वच्छ र हरियाली सहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी ती निर्माण गरिएका हुन् । आर्थिक अवस्था कमजोर भएका तामाङ सामुदायलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी ६५ घरधुरीका एक÷एक तथा दैनिक ज्यालादारीमा काम गर्ने ३१ र विभिन्न सङ्घसंस्थाबाट गरी एक सयजनाको दैनिक श्रमबाट बस्ती निर्माण सम्पन्न गरिएको हो ।

हेलम्बु राजमार्गअन्तर्गतको सिन्धुखोलाबाट करिब ६ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ । सो बस्तीमा खानेपानीको व्यवस्थाका लागि सिन्धुखोलाबाट पानी ल्याउने प्रबन्धसमेत मिलाइएको बताइएको छ ।