८ बैशाख २०८१, शनिबार
Follow Us

तीन महिना नदी उत्खननमा रोक

sarusaru
२९ जेष्ठ २०७६, बुधबार ०२:२२

मेलम्ची । जिल्ला अनुगमन तथा समन्वय समिति सिन्धुपाल्चोकले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ। जिल्ला समन्वय समितिको निर्णयानुसार आउँदो असार १ गतेदेखि नदी उत्खनन् गरी बालुवा, ढुङ्गा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पाइने छैन।

सुनकोशी, इन्द्रावतीजस्ता ठूला नदीका साथै मेलम्ची, ब्रह्मायणी नदीमा अत्यधिक उत्खनन भई सङ्कटको अवस्था आइसकेका कारण यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। उनले असोजपछि पनि वातावरणीय प्रभाव मूल्याङ्कनले उचित ठह¥याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राख्ने बताए।

भूकम्प पश्चात् घर निर्माणका कार्य तीव्र भई गिट्टी, बालुवाको व्यापार ह्वात्तै बढ्दा व्यवसायीहरू क्रसर उद्योगमा आकर्षित भएका थिए। शक्तिको चलखेलमा मापदण्डभित्र नपर्दा पनि अत्यधिक क्रसर उद्योग खुलेका छन्।

यसबाट बाहुनीपाटी, सिपाघाटको मोटर पुल पनि जोखिममा परेका स्थानीयले बताएका छन्। धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन हुँदा नदीले धार नै परिवर्तन गरेको छ। साथै यहाँका जलचरलाई पनि असर पारेको छ। माछा मारेर गुजारा गर्ने मेलम्चीका शम्भु माझी इन्द्रावतीमा पहिलेजस्तो माछा नपाइने हुँदा अहिले गुजारा चलाउन पनि मुस्किल परेको बताउँछन्।

वातावरणीय विकराल अवस्थाकै कारण जिल्ला समन्वय समितिले नदीजन्य सामग्री उत्खनन गर्दा पुनः वातावरणीय परीक्षण गर्न स्थानीय तहलाई आग्रह गरेको छ। दर्ता गर्न चाहने क्रसर उद्योगले वातावरणीय परीक्षण गरेर जिल्ला समन्वय समितिबाट स्वीकृत गराएर मात्र दर्ता अनुमति दिन निर्देशन दिएको प्रमुख तामाङले जानकारी दिए।
डिसी नेपाल