१३ बैशाख २०८१, बिहीबार
Follow Us

गौतमबुद्ध विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी

sarusaru
३० जेष्ठ २०७६, बिहीबार ०३:३१

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याउने प्रक्रिया सुरू भएको छ।

विमानस्थल निर्माण सकिनै लाग्दा सौर्य ऊर्जा निर्माण गर्न अनुदान र सहुलियतपूर्ण ऋण उपलब्ध गराएको एसियाली विकास बैंकले सौर्य ऊर्जाबाट सञ्चालनको तयारी गरेको हो।

एडिबीले स्थानीय सरोकारवाला निकायसँग छलफल गरी सौर्य ऊर्जा निर्माणको प्रक्रिया अघि बढाएको जनाएको छ।

एडिबी नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले प्रारम्भिक छलफल गरिएको र विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने अवधारणा अघि सारिएको बताए।

प्रधानले अहिले निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत नभई सौर्य ऊर्जाबाट सञ्चालन गर्ने काम नयाँ योजनाका साथ ल्याइएको बताए। यसका लागि एडिबीले नागरिक उड्ययन प्राधिकरणको कार्यालयसँग छलफल भइरहेको जनाएको छ।

विमानस्थल अहिले निर्माणको अन्तिम चरणमा छ। यो विमानस्थललाई नेपालकै पहिलो ग्रिन एयरपोर्टको रूपमा विकास गर्ने अवधारणा अनुसार सौर्य ऊर्जाबाट सञ्चालन गर्नेबारे छलफल अघि बढाइएको एडिबीका अधिकारीहरूले जनाएका छन्।

सौर्य ऊर्जा जडान गर्न लाग्ने रकम ग्रान्टका रूपमा एडिबीले प्रदान गर्ने प्रधानले बताए।

अहिलेसम्म सकारात्मक र योजनावद्ध रूपमा कुरा अघि बढिरहेको प्रधानले बताए।

छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ। त्यसको अवलोकन गरेपछि सुरक्षाका कुरा पनि हेरी गौतमबुद्ध विमानस्थलमा पनि सौर्य ऊर्जाको प्रयोग गरिने एडिबीले जनाएको छ।
भारतमा पुगेर सौर्य ऊर्जाबाट विमानस्थल सञ्चालनमा ल्याउँदा हुने जोखिमका विषयमा पनि अध्ययन गरिने जनाइएको छ।

गौतमबुद्ध विमानस्थल क्षेत्रभित्रै सोलार प्यानलमार्फत् कम्तीमा १० मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना रहेको प्रधानले बताए।

सौर्य ऊर्जामार्फत् एक मेगावाट विद्युत् उत्पादन गर्न कम्तीमा १० करोड खर्च हुने अनुमान छ। विमानस्थलमा उद्योगमा जस्तो धेरै विद्युत् आवश्यक नपर्ने भएकाले सौर्य ऊर्जाबाट उत्पादन हुने बिजुली विद्युत् प्राधिकरणले अन्यत्र प्रयोग गर्न सक्ने र विमानस्थलको आय पनि बढ्ने बताइएको छ।

योजना अघि बढेमा विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरू हुने र ५/६ महिनाभित्रै काम सकिने प्रधानको भनाइ छ।

सन् २०१९ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र त्यसपछि बाँकी आवश्यक प्रक्रिया पूरा गरी सन् २०२० भित्रै अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउने योजना रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए।

विमानस्थलमा अहिले टर्मिनल भवनको अन्तिम काम भइरहेको छ भने प्रशासनिक भवनमा रंगरोगन गर्ने काम जारी छ। त्यसैगरी धावनमार्ग, पाँच वटा ठूला जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माणको काम सम्पन्न भइसकेको छ।

टावर निर्माण अन्तिम चरणमा छ। तीन किलोमिटर धावनमार्गलाई ट्याक्सी वेसँग जोड्ने काम पनि सम्पन्न भएको छ। अब फिनिसिङ, साजसज्जा र विद्युतीकरणसहित सूचना प्रविधिसम्बन्धी काम बाँकी छन्। विमानस्थल र धावनमार्गमा आवश्यक सबै उपकरणका लागि टेन्डर सम्पन्न भइसकेको र छिट्टै उपकरण जडान सुरू हुने बताइएको छ।
सेतोपाटी