१५ चैत्र २०८०, बिहीबार
Follow Us

गाउँपालिकाका इञ्‍जिनियर घुससहित पक्राउ

sarusaru
३० जेष्ठ २०७६, बिहीबार १२:५३

राजविराज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इञ्जिनियर विकास श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्णा खोलाको झोलुंगे पुल निर्माण कार्यको पहिलो किस्तावापतको पेश्की फर्छ्यौटका लागि मूल्यांकन गर्न इञ्जिनियर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पेश्की फछ्यौटका लागि मूल्यांकन गरिदिने भन्दै श्रेष्ठले स्वर्णा खोला झोलुंगे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजिब रायसँग बिहीबार बिहान घुस लिएको आयोगले जनाएको छ। राजविराज नगरपालिका ६ स्थित डेराबाट श्रेष्ठलाई घुसवापत लिएको एक लाख नगदसहित रंगेहात पक्राउ गरी छानबिन सुरु गरिएको आयोगका प्रहरी नायव उपरीक्षक श्याम सारुले जनाए।

आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायव उपरीक्षक सारुको नेतृत्वमा आएको टोलीले श्रेष्ठको डेरामा छापा मारी एक लाख रुपैयाँ फेला पारेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमकुमार यादवले बताए।

स्वर्णा खोलाको झोलुंगे पुल निर्माण कार्यको पहिलो किस्तावापत पेश्की लिएको आठ लाख रुपैयाँ बराबरको काम सम्पन्न नभएको भन्दै मूल्यांकन हुन नसक्दा उपभोक्ता समितिले दोस्रो किस्ता वापतको पेश्की रकम उठाउन पाएको छैन्।

तत्कालिन जिल्ला विकास समिति सप्तरीद्वारा वि.स. २०७० सालदेखि नै थालिएको पुल निर्माणको काम मूल्यांकन नहुँदा अधुरो रहेको छ।पक्राउ परेका श्रेष्ठले स्वर्णा खोलाको काम बोदे बर्साइन नगरपालिकाअन्तर्गत परेकोले आफूले मूल्यांकन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मूल्यांकन गरी दिन दवाव दिँदै आएको बताए। उपभोक्ता समितिका अध्यक्ष रायले सापटीवापत बिहान रुपैयाँ दिएको श्रेष्ठले बताए।
अन्नपूर्ण पोष्ट