१३ बैशाख २०८१, बिहीबार
Follow Us

भाडा वृद्धि फिर्ता

sarusaru
३१ जेष्ठ २०७६, शुक्रबार ०१:४७

काठमाडौं । बिहीबार दिउँसो सार्वजनिक गरिएको यातायात भाडा वृद्धि बिहीबारै साँझ फिर्ता भएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।

भाडा वृद्धिबारे थप स्पष्ट हुनुपर्ने आवश्यकता रहेको भन्दै विभागले भाडा फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । विभागका प्रवक्ता तीर्थराज खनालद्वारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि भाडा वृद्धि फिर्ता लिएको उल्लेख गरिएको छ ।

भाडा बढेपछि सामाजिक सञ्जालहरुमा व्यापक विरोध भएको थियो । प्रधानमन्त्री केपी ओली देश बाहिर रहेकाबेला भाडा बढेकाले पनि प्रधानमन्त्री कार्यालयले यो विषयमा चासो लिएको जनाइएको छ ।

भाडा वृद्धिकै विषयलाई लिएर सरकारमाथि अर्को आलोचनाको विषय बन्ने भएकाले सरकारले आफ्नो निर्णय फिर्ता लिएको हो । हाल सरकारविरुद्ध विभिन्न पेसागत संघसंस्था, धर्मसंस्कृति सम्बन्धि संघसंस्थासमेत आन्दोलनरत छन् । भाडा वृद्धिले अर्को समूहलाई पनि आन्दोलनका लागि आमन्त्रण दिए जस्तो हुने देखेपछि सरकारले फिर्ता लिएको स्रोतको दाबी छ ।
डिसी नेपाल