१४ बैशाख २०८१, शुक्रबार
Follow Us

युवाले पाएनन् कर्जा

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार ०३:१९

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ऋण नदिएपछि उदयपुरको बेलका नगरपालिकाका २२ जना युवा मंगलबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा ध्यानाकर्षण गराउँदै थिए। उनीहरूले सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको उदयपुर शाखालगायत अन्य निजी बैंकमा पहल गर्दा पनि ऋण नपाएको भन्दै बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीलसँग गुनासो गरे।

बेलका–१ का फनिन्द्र पोखरेलले ८६ जना युवाले ऋणका लागि आवेदन गरे पनि हालसम्म कसैले पनि ऋण पाउन नसकेको बताए। ‘बैंकले धितो माग्छन्, हामीसँग धितो राख्ने जग्गा छैन’, उनले भने। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई परियोजनालार्ई नै धितो मानेर १० लाख रुपैयाँसम्म ऋण दिनुपर्ने व्यवस्था गरेको छ। यसमा अन्य धितो माग्न पाइँदैन। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म वैदेशिक रोजगारीबाट फर्केका ११ जनाले ७८ लाख रुपैयाँ कर्जा पाएका छन्।

उदयपुरका युवाले मात्र होइन देशका अधिकांश युवाले वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा पाउन सकिरहेका छैनन्। विदेशबाट फर्केका उद्यम गर्न चाहने बेलकाका युवाले पोखरेलको संयोजकत्वमा संर्घष समितिसमेत बनाएका छन्। ती युवाले परियोजनासहित आवेदन प्रस्तावमा बैंकले ऋण नदिएको भन्दै बोर्डका सुवेदीलाई भेटेका हुन्। उनीहरूले यसअघि अर्थ मन्त्रालयका अधिकारीसँग पनि कर्जा नपाएको गुनासो राखेका थिए। अन्नपूर्ण पाेस्टमा खबर छ ।