१३ बैशाख २०८१, बिहीबार
Follow Us

अस्पताल तोडफोड भएपछि बोल्न बाध्य भयो ओम अस्पताल (विज्ञप्तिसहित)

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १०:४०

ओम अस्पताल तथा रिसर्च सेन्टरले उपचारको क्रममा बिरामीको मृत्यु भएको प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ।
अस्पतालमा उपचाररत ५० वर्षीया रामप्यारी थापा मगरको उपचारका क्रममा निधन भएको थियो । आफन्तहरुले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको आरोप लगाएका छन् ।

सोही विषयलाई लिएर शुक्रबार अस्पतालमा नाराबाजीका साथै तोडफोड भएको थियो ।
अस्पतालको विज्ञप्तिः

प्रेस बिज्ञप्ति

ॐ अस्पताल तथा रिसर्च सेन्टरमा उपचाररत बर्ष ५० की रामप्यारी थापा मगरको उपचारका क्रममा निधन भएको बिषयलाई लिएर आफन्तका नाममा भेला भएको अराजक भिडले दिनभर अस्पताल परिसरमा नारावाजि गरी उपचार सेवामा बाधा पुर्याउने तथा अस्पतालमा तोडफोड समेत गरेका छन् ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको यस अघि नै तल्लो पेटको तीनपटक जटिल किसिमको शल्यकृया भइसकेको र उनको तौल समेत असामान्य रुपमा धेरै रहेको तथ्यबारे परिवारजनलाई जानकारी गराई पूर्व सहमति लिएरमात्र उनको शल्यकृया गरिएको हो । सुन्दा सहज लागेपनि पित्तथैलीको पत्थर निकाल्ने अप्रेशन(कोलिसिसटेक्टोमी, उनको शारिरिक अवस्था र अन टेवल सर्जरी शुरु गर्दाको अवस्थामा देखिएको जटिल अवस्थाको परिवारजन तथा आफन्तजनलाई उपचारमा संलग्न चिकित्सक टोलीले तत्काल र उपचार अवधिमा नियमित रुपमा अवगत गराइरहेको समेत जानकारी गराउन चाहन्छौं ।
निज थापाका परिवार र जनप्रतिनिधि लगायतसँग उपचारमा संलग्न चिकित्सक, संचालक तथा प्रशासकहरुले पटक पटक बैठक गरी उपचारको यथार्थ विवरण समेत जानकारी गराएको अवगत गराउन चाहन्छौं । साथमा परिवारजन तथा आफन्तहरुको लागि कानूनी उपचारकालागि समेत अस्पतालले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाइसकेको छ ।
यति हुँदाहँदै, वार्ता भइरहेका बेलामा मृतकका आफन्तजन लगायतले अस्पतालको नियमित सेवामा समेत बाधा पुग्नेगरी हुल(हुज्जत तथा नाराबजी गरी अस्पतालमा पुर्याएको भौतिक क्षतीप्रति अस्पताल प्रशासन खेद प्रकट गर्दछ । साथै यस घटनामा घाइते हुनुभएका बिरामीका आफन्तहरु, सुरक्षाकर्मीहरु लगायतका अन्य प्रभावितहरुप्रति समेत अस्पताल प्रशासन दुख प्रकट गर्दछ । अस्पतालमा उपचार सेवाका लागि आएका बिरामीहरु तथा भर्ना भई उपचार गराइरहेका बिरामीहरुमा पर्न गएको असुबिधाका लागि क्षमाप्रार्थी छौं ।
उपचारका क्रममा आइतबार बिहान बिरामीको अवस्था खस्कदै गएको बुझेर उनलाई सघन उपचार कक्षमा सारियो । संक्रमण बढ्दै गएकाले चिकित्सकको अनुभव तथा जजमेन्टका आधारमा सानो शल्यकृया गरिहेर्दा आन्द्रामा छिद्र देखिएकोले तत्काल अप्रेशन गरी आन्द्रा जोड्ने संभावना नरहेको हुँदा इलियोस्टोमी गरीयो ।
बिरामीको अवस्था थप खस्कदै गएपछि आइसियुका पछिल्ला औषधिहरु प्रयोग गरीसकेपछि र डायलाइसिस गरेपछिपनि अवस्थामा सुधार नदेखिएको र मृगौला, मुटु लगायतका अंगहरुले समेत काम गर्न छाड्दै गएको अवस्थामा बिहिवार बिहान ७ बजे उनको निधन भयो ।
स्वास्थ्य उपचार सेवामा असन्तुष्टी भएमा कानूनी उपचारको बाटो हुँदाहुँदै हुलहुज्जत, नाराबाजी र तोडफोड जस्तो असामाजिक गतिविधि गरी अस्पतालको सेवामा खलल नपुर्याइदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछौं ।
अन्त्यमा, बिगत २५ बर्षदेखी निरन्तर आम नेपाली जनमानसको पहुँचमा पुग्नेगरी उपचार सेवा प्रदान गरिरहेको ॐ अस्पताल सदाझै स्तरिय उपचार सेवाकालागि प्रतिवद्ध छ ।