१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनप्रतिनिधिलाई योजना सङ्कलनमा भ्याइनभ्याइ

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १०:४५

पर्वत । आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नका लागि पर्वतका वडाध्यक्षहरूलाई योजना छनोटमा यतिबेला भ्याइनभ्याइ भएको छ ।आगामी असार १० गतेभित्रै सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने भएकाले उक्त बजेटमा समावेश गर्न गाउँ, टोल र बस्तीमा पुगेर योजना छनोट तथा सङ्कलन र छलफल शुरु गरेका हुन् ।

विगत एक सातादेखिनै जिल्लाको कुश्मा, फलेवास, महाशीला, विहादी, पैंयु, मोदी र जलजला गाउँपालिकाका वडा अध्यक्षहरू सक्रिय रुपमा योजना छनोटका लागि छलफलमा सक्रिय भएका हुन् । सबै टोल र बस्तीमा पुगेर स्थानीय नागरिकका आवश्यकता र चाहना बमोजिम योजना छनोटका लागि छलफल गरिएको महाशिला वडा न ५ का वडाध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

उहाँले वडाका ११ वटा टोल बस्तीमा भेला आयोजना गरी ब्यापक छलफल गरिएकोे बताउनुभयो । शुरुमा बस्तीबस्तीमा पुगेर छलफल गरे पनि अन्तिममा वडा कार्यलयमै वडास्तरीय योजना तर्जुमा गरेर टङ्गो लगाइने उहाँको भनाइ थियो ।

महाशीलाका अध्यक्ष राजु पौडेलले सबै वडामा अहिले आगामी आर्थिक वर्षको योजना बारेमा छलफल भइरहेको बताउनुभयो ।
यस्तै कुश्मा नगरपालिकाका पनि अधिकांश वडाका टोलमा छलफल गरी योजना छनोट गरिएको कुश्मा– ५ का अध्यक्ष चित्रकला शर्माले जानकारी दिनुभयो । उहाँले योजना स्थानीयवासीकै आवश्यकता र मागका आधारमा योजना छनोट गर्नका लागि टोल र बस्तीस्तरसम्म पुगेर छलफल गरिएको बताउनुभयो ।

त्यस्तै फलेवास नगरपालिकाले पनि वडाध्यक्षलाई बस्ती बस्तीमा पुगेर योजना छनोट गर्न ताकेता गरिएको जनाएको छ । नगरपालिकाले असार १ गतेभित्र छलफल गरेर योजना टुङ्ग्याउन भनेको प्रवक्ता टीकाराम गौडेलले जानकारी दिनुभयो । त्यसैगरी मोदी गाउँपालिकाका पनि आठ वटै वडामा छलफल चलिरहेको त्यहाँका प्रवक्ता विमल लामिछानेले जानकारी दिनुभयो ।