१५ बैशाख २०८१, शनिबार
Follow Us

पुरानो संस्कार र संस्कृतिले नयाँबस्ती बसाल्न गाह्रो : राष्ट्रपति

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार १३:१९

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य, मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताएकी छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले शुक्रबार आयोजना गरेको एकीकृत नमुनाबस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँबस्ती बसाल्न गाह्रो भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताइन् । उनले भूकम्पप्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुनाबस्ती बसाल्न सकिने औंल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्चजोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत बस्ती बसाल्न कठिन भएको बताइन् ।

उनले भनिन्–‘अब पुनःनिर्माणको काम शीघ्र र तदारुकताका साथ अघि बढाउनुपर्छ ।’ समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले एकीकृत नमुनाबस्ती सरकारका लागि सिक्नलायक विषय भएको उल्लेख गर्दै यसखालका अभ्यासलाई देशका अरु भागमा पनि लागू गर्न सकिने बताए । सांसद अग्नि सापकोटाले नयाँबस्ती पुनःनिर्माणको महाविश्वविद्यालय भएको र यो राजनीतिक पार्टीका लागि सिक्ने विषय भएको बताए ।

अर्का सांसद शेरबहादुर तामाङले भूकम्पपीडित समुदायलाई एकीकृत घर निर्माण गरेर कलाकार धुर्मुस–सुन्तलीले ठूलो पुन्य कमाएको उल्लेख गरे । सो कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि नमुनाबस्ती उदाहरणीय भएको बताए । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना एकीकृत बस्ती समानताको प्रतिविम्ब भएको बताए । रु पाँच करोड १४ लाख ३९ हजार १८७ को लागतमा निर्माण भएको एकीकृत नमुना बस्तीमा ६५ घरधुरी छन् ।