१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुखर्जीको भ्रमणसँगै नेपाल भारत सम्बन्ध नयाँ युगमा

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार १३:२१

काठमाडौं । भारतका राष्ट्रपति केआर नारायणनको २०५५ साल जेठ १४ पछि हुन लागेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको छिट्टै हुने भ्रमणले नेपाल–भारतबीचको युगौँदेखिको मित्रता र जनस्तरको सुसम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि यही कात्तिक १७ गते आउँदै हुनुहुन्छ । भौगोलिक तथा संस्कृतिक निकटता भएका नेपाल–भारतबीचको सम्बन्धको आफ्नै खाले विशेषता छन् । एक हजार सात सय किमीभन्दा बढी खुला सिमाना भएका दुई मुलुकबीच जनस्तरमा अत्यन्तै सौहार्द र घनिष्ठ सम्बन्ध रहिआएको छ । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारत र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था अँगालेको नेपालबीच हुने यस प्रकारका भ्रमणबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ ।

तत्कालीन राष्ट्रपति नारायणनले नेपाल आगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्नुभएको थियो, “यो मेरो सद्भावना भ्रमण हो र सद्भावना भ्रमणमा हाम्रो मित्रताका सबै पक्ष समेटिएको हुन्छ ।”

संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्त अनुरुप अन्तर्राष्ट्रिय मञ्च अधिकांश विषयमा साझा अवधारणा राख्दै आएका दुई देशबीचको भाषा, धर्म, संस्कृति र रहनसहन तथा सभ्यताले समेत एकार्कालाई निकट तुल्याएको छ । राष्ट्रपति मुखर्जीबाट नेपाल भ्रमणमा रहँदा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग औपचारिक भेटवार्ता हुनेछ । राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन हुनेछ ।

राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका अवसरमा द्विपक्षीय समझदारीपत्रमा हस्तारक्षर समेत हुनेछ । मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले रात्रिभोजको आयोजना गर्नुहुनेछ । नेपालको पूर्वपश्चिम र दक्षिणमा सिमाना जोडिएको भारतसँगको सम्बन्ध संसारमै उदाहरणीय रहेको छ । एकार्काका देशमा बिनाप्रवेशाज्ञा आवतजावत गर्न सकिनेसम्मको सुविधाको उपभोग दुवै देशका नागरिकले निर्वाधरुपमा गर्दै आएका छन् ।

भ्रमणका अवसरमा राष्ट्रपति मुखर्जीले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग द्विपक्षीय हित र आपसी चासोका विषयमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । राष्ट्रपति मुखर्जी काठमाडौँ विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ । उहाँले काठमाडौँमा रहँदा पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ । साथै राष्ट्रपति मुखर्जीले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्नुहुनेछ ।
राष्ट्रपति मुखर्जीको स्वागतका लागि नेपाली जनता र सरकार आतुर छन् । सरकारी र जनस्तरमा समेत उहाँको भ्रमणका लागि विशेष तयारी भइरहेको छ । सुरक्षा व्यवस्थालाई समेत कडा तुल्याइएको छ ।

नेपालको पशुपतिनाथ र भारतका विभिन्न धार्मिक तीर्थस्थलले नागरिक र संस्कृतिबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । दुई मुलुकबीचको व्यापारिक तथा सामरिक सम्बन्ध अन्य मुलुकको तुलनामा महत्वपूर्ण छ । नेपालको कुल व्यापारको करिब दुई तिहाइ कारोबार भारतसँग नै हुँदै आएको छ । भारत नेपालको विकासमा योगदान पु¥याउने प्रमुख साझेदार मुलुक पनि हो । भ्रमणकै अवसरमा नेपाल उद्योग परिसङ्घले आयोजना गर्ने व्यापारिक कार्यक्रममा राष्ट्रपति मुखर्जीले विशेष आतिथ्यता ग्रहण गर्नुहुनेछ ।

राष्ट्रपति मुखर्जीले नीति अनुसन्धान प्रतिष्ठान नेपाल र इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्नुहुनेछ । नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय सेनाबाट अवकाशप्राप्त सैनिकको भेलालाई राष्ट्रपति मुखर्जीले सम्बोधन गर्ने प्रारम्भिक कार्यक्रम तय भएको बुझिएको छ ।

भारतीय सेनामा नेपाली युवाबाट ठूलो योगदान हुँदै आएको हुँदा त्यसबाट नेपाल भारतबीचको सम्बन्ध थप बलियो बनेको छ । भारतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, ऊर्जा एवम् कृषि र पर्यटनलगायत विकासमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा भारतको नैतिक समर्थन रहनाका साथै भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली नेताले महत्वपूर्ण योगदान गर्नुभएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल–भारतबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको थियो ।

भारतको राष्ट्र प्रमुखबाट लामो समयपछि नेपालको भ्रमण भए पनि त्यहाँका प्रधानमन्त्री आइके गुजराल, अटलविहारी वाजपेयी र नरेन्द्र मोदीबाट यसबीचमा भ्रमण भइसकेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का संस्थापक सदस्य राष्ट्रका रुपमा रहेका नेपाल र भारतका नेताको भ्रमणको आदानप्रदानको निरन्तरताले यस क्षेत्रको विकास र समृद्धिमा समेत योगदान पुग्दै आएको छ ।

भारतीय राष्ट्रपति मुखर्जी नेपालको भ्रमण सकेर यही कात्तिक १९ गते स्वदेश फर्कने कार्यक्रम छ । उहाँको यस भ्रमणबाट दुई देशबीच रहँदै आएको सम्बन्धमा थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएकोे छ ।