१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूके निर्वाचन : मिडल्याण्डबाट ८ उम्मेदवार चुनावी मैदानमा

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार २३:३२

नटिंगहम । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि बेलायतको मिडल्याण्ड क्षेत्रबाट सामुहिक उम्मेदवारी घोषणा गरिएको छ । सोमबार नटिंगहमको काठमाडौं लाउञ्जमा आयोजित घोषणासभामा सो क्षेत्रबाट आइसिसी सदस्यसंगै एनआरएन यूकेको उपाध्यक्ष , सचिव र ४ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको हो ।

मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व गर्दै एनआरएन आइसिसी सदस्यमा दयानिधि सापकोटा (लेस्टर) तथा एनआरएन यूकेको उपाध्यक्षमा पशुपति पोखरेल (लेस्टर) , सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल ( बर्मिंगहम) र सदस्यहरुमा कृष्ण चालिसे ( नटिंगहम) , गोमा पौडेल ( वुल्भह्याम्पटन ), सशांक (कृष्ण) शर्मा पौडेल ( बर्मिंगहम), कृष्ण खराल ( नटिंगहम) र नृपेश उप्रेती ( पिटरबरो ) उम्मेदवार बनेका छन् ।

साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले सो क्षेत्रबाट सर्वसम्मत रुपमा चयन भएका उम्मेदवारहरुको नाम घोषणा गरेका थिए । साझाका पूर्व अध्यक्ष रणबहादुर केसीले खादा ओढाएर उम्मेदवारहरुलाई शुभकामना दिएका थिए ।

त्यसअवसरमा प्रतिबद्धता मन्तव्य राख्दै आइसिसी सदस्य उम्मेदवार दयानिधि सापकोटाले संस्थामा आर्थिक पारदर्शिता कायम गर्ने, क्यालेन्डरअनुसार कार्यक्रमहरु सञ्चालन गराउनेदेखि नागरिकता निरन्तरता लगायतका महत्वपुर्ण अभियानमा एनसिसीसंगको सहकार्य गर्दै आइसिसीमा प्रतिनिधित्व गर्ने प्रतिबद्धता गरे । उपाध्यक्षका उम्मेदवार पशुपति पोखरेलले आफुहरुमाथि मिडल्याण्डवासीले राखेको भरोसालाई टुट्न नदिने गरी काम गर्ने अठोट व्यक्त गरे । सचिव उम्मेदवार कोशलेश्वर (कृष्ण) ढकालले एनआरएन यूकेमा मिडल्याण्डले संयुक्त उम्मेदवारी दिंदै एकताको सन्देश दिन खोजिएको बताए ।

सदस्यका उम्मेदवारहरु विष्णु चालिसे, गोमा पौडेल, सशांक शर्मा, कृष्ण खराल र नृपेश उप्रेतीले पनि एनआरएन यूकेको कार्यसमितिमा रहेर सबैको भावनाको प्रतिनिधित्व गर्ने गरी काम गर्ने आफ्नो वचनबद्धता व्यक्त गरे ।

घोषणासभामा शुभकामना मन्तव्य राख्दै एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले एनआरएन अभियानमा पछिल्लो समय मिडल्याण्ड क्षेत्रमा देखिएको सक्रियताको प्रशंसा गर्दै भविष्यमा संस्थाको सदस्यता बिस्तारको कार्यलाई थप व्यापक बनाउन आग्रह गरे ।
एनआरएन आइसिसीका सहकोषाध्यक्ष सोम सापकोटा , आइसिसी सदस्यहरु रामशरण सिम्खडा र सुष्मा राई, एनआरएन यूके अध्यक्षका प्रत्यासी एवम् वर्तमान उपाध्यक्षहरु पुनम गुरुंग, प्रेम गाहा मगर, ललितकुमार न्यौपाने, शेर सुनार र सुशिला राई, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई, आइसिसी सदस्य उम्मेदवार अर्कराज तिम्सिना तथा कोषाध्यक्ष उम्मेदवारहरु राजन खकुराल र तिलक भट्टराई, एनआरएन यूके सल्लाहकारहरु नारायण कंडेल र कृष्ण तिमल्सेना लगायतले एनआरएन अभियानमा मिडल्याण्डको उपस्थिति स्वागतयोग्य भन्दै सम्पुर्ण उम्मेदवारहरुको सफलताको कामना गरेका थिए ।

त्यसैगरी मिडल्याण्डबाट शान्ति नेपाली समाजका अध्यक्ष लिलाबहादुर थापा, सिर्जनशिल लेस्टर नेपालका अध्यक्ष बलराम चापागाईं र पूर्व अध्यक्ष प्रेम आले मगर, नटिंगहम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल, पिटरबरो नेपाली समाजका अध्यक्ष शिव भण्डारी, हाम्रो नेपाली समाज वुल्भह्याम्पटन अध्यक्ष शिव खराल, डर्बी गोर्खा नेपाली समाज महासचिव हरि भट्टराई, एनआरएन यूके सचिव तारानाथ भण्डारी र सदस्य पवन शर्मा, जनसम्पर्क समिति यूके महामन्त्री केशव भण्डारी, साझा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष नारायण फुयाँल सहितका एनआरएन अभियन्ता एवम संघसंस्थाका प्रतिनिधिले उम्मेदवारहरुलाई शुभकामना दिंदै समुदायको तर्फबाट पुर्ण साथ रहने वचनबद्धता गरे ।

नृपेश उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा शंकर भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमका सभापति एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा मिडल्याण्डको नटिंगहम, बर्मिंगहम, लेस्टर, वुल्भरह्याम्पटन, पिटरबरो, डर्बी सहितका सम्पुर्ण क्षेत्रस्थित नेपाली संघसंस्था र समुदायको उल्लेख्य उपस्थिति थियो । कार्यक्रमका लागि लण्डनबाट मिडल्याण्ड पुगेका एनआरएन यूकेको आसन्न निर्वाचनका प्रत्यासीहरुको भिडले चुनावी माहोल तातेको अनुभुति गराएको थियो ।

एनआरएन यूकेको आसन्न निर्वाचनमा सिंगो मिडल्याण्डकोसाझा उम्मेदवारको रुपमा ८ जनाको उम्मेदवारी घोषणा भयो । उम्मेदवार घोषित हुनेहरुमध्ये आइसिसी सदस्यमा मिडल्याण्डको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका छन् दयानिधि सापकोटाले ।

दुई वर्षअघिको एनआरएन यूके निर्वाचनमा मिडल्याण्ड क्षेत्रका ४ उम्मेदवारको नेतृत्व गर्दै उपाध्यक्षको उम्मेदवार थिए सापकोटा । उपाध्यक्ष पदमा निर्वाचित नबनेपनि पछिल्लो दुई वर्षमा एनआरएन अभियानमा मिडल्याण्डको प्रतिनिधिका रुपमा अग्रपंिक्तमा देखिंदै आएका छन् उनी । एनआरएन इंग्ल्याण्डको राज्य समन्वय परिषद गठनको लागि मिडल्याण्डबाट भएको पहलको समेत अगुवाई गरेका थिए सापकोटाले । एनआरएन यूकेमा सल्लाहकार रहेका उनी लेस्टरस्थित सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष पनि हुन् ।

उपाध्यक्ष पदका उम्मेदवार पशुपति पोखरेल पनि सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष हुन् । एनआरएन अभियानमा यस क्षेत्रका अभियन्ताहरुमध्येका एक उनी अहिले एनआरएन यूकेमा सल्लाहकार छन् ।

त्यस्तै, सचिव पदका उम्मेदवार कोशलेश्वर (कृष्ण) ढकाल मिडल्याण्डको बर्मिंगहमस्थित शान्ति नेपाली समाजका पूर्व अध्यक्ष हुन् । एनआरएन अभियानमा सक्रिय उनी गुल्मी जिल्ला समाज यूके लगायतका अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल छन् ।

सदस्यका उम्मेदवारहरु विष्णु चालिसे, गोमा पौडेल, सशांक शर्मा, कृष्ण खराल र नृपेश उप्रेती पनि मिडल्याण्ड तथा बेलायतस्थित विभिन्नसंघसंस्थाका महत्वपुर्ण जिम्मेवारी समहालिसकेका अनुभवी सामाजिक व्यक्तित्वहरु हुन् ।

– तस्विर : शिव भण्डारी

 

एनआरएन युकेको निर्वाचनमा मिडल्याण्डबासी एक ढिक्का (भिडियो)