१३ बैशाख २०८१, बिहीबार
Follow Us

विद्यान विपरीत अस्ट्रेलिया एनआरएनको चुनावमा दुई प्यानल

नेपालब्रिटेन डट कम्
५ असार २०७६, बिहीबार १४:५७

‘एनआरएन निर्वाचनमा कांग्रेस कम्युनिष्ट भिडन्त’

अस्ट्रेलिया — दुईवर्षे कार्यकालका यही जुलाई ६ मा हुने निर्वाचनमा एनआरएन अस्ट्रेलियाका आकांक्षीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि हालसम्म सबै राज्यमा प्रजातान्त्रिक र समावेशी प्यानल बनाएर उम्मेदवारले मत माग्न सुरु गरिसकेका छन् ।

कांग्रेस निकटको प्रजातान्त्रिक समूहले आपसी खिचातानीका कारण २ प्यानल बनाएर मैदानमा उत्रिएको छ भने वामपन्थी निकट समावेशी टिमले दिनेश पोखरेलको नेतृत्वमा अलग टिम निर्माण गरेको छ । प्रजातान्त्रिक समूहबाट अहिलेका उपाध्यक्षद्वय केशव कँडेल र नन्द गुरुङ प्यानलसहित प्रतिस्पर्धामा देखिएका छन् ।

 

पोखरेलले पनि सबै राज्यमा प्यानलसहित उम्मेदवारी दिइसकेका छन् । केशव कँडेलको समूहबाट महासचिव, सचिव, कोषाध्यक्ष र युवा संयोजकमा क्रमशः डा. ज्ञानेन्द्र रेग्मी, प्रनेश घिमिरे, अनिल पोखरेल र इर्साद अहमद छन् भने नन्द गुरुङको प्यानलमा डा। शंकर ढकाल, सरोज पाण्डे, कुशल केसी र विजय पौडेलले उम्मेदवारी दिएका छन् ।

समावेशी समूहबाट अध्यक्षमा दिनेश पोखरेलका साथै महासचिवमा सन्तोष दाहाल, सचिवमा उषाकिरण बारिया पोखरेल, कोषाध्यक्षमा कपिल पाण्डे र युवा संयोजकमा विनोद पौडेलको उम्मेदवारी परेको छ । एनआरएन आईसीसी सदस्य गोकुल घिमिरे प्यानलसहित चुनावी प्रतिस्पर्धा भएपनि निर्णय मतदाताको हातमा भएको बताउँछन् । उनले भने, ‘प्यानल बनाएर निर्वाचनमा उठेको भएपनि एनआरएन मतदाताले कसको एजेन्डा राम्रो छ र कसले नेपाली समाजलाई योगदान गर्नसक्छ भन्ने आधारमा मत दिने हो ।’

अस्ट्रेलियाका ६ राज्य तथा २ टेरिटोरीमा समेत प्रजातान्त्रिक र समावेशी समूहअन्तर्गत नै प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । संघको विद्यानले अनुरुप कुनै पनि प्यानल बनाएर चुनाव लड्न बन्देज गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय समन्वय समितिको ७ पदमा १४ जनाले उम्मेदवारी दिएका छन् । दक्षिण अस्ट्रेलियाबाट नवराज ९नवीन० पन्त र रेणुका लामाले संयोजकका लागि प्रतिस्पर्धामा उत्रेका छन् । क्यापिटल टेरिटोरीबाट सञ्जय घिमिरे र चूडामणि सापकोटा, न्यु साउथ वेल्समा देव गुरुङ र डिला खरेल, भिक्टोरियामा महेन्द्र केसी र प्रेम कँडेल, पश्चिम अस्ट्रेलियाबाट कृष्णमान श्रेष्ठ र नवीन भण्डारी तथा क्वीन्सल्यान्डबाट धीरेन्द्रराज थापा र उमेश खडकाले नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

नर्दन टेरिटोरी र तास्मानियाबाट क्रमशः हेम पुन र सन्देश परियार निर्विरोध हुने भएका छन् । यसैगरी महिला संयोजकमा सन्ध्या शाह निर्विरोध भएकी छन् । निर्वाचनलाई पारदर्शी बनाउन पूर्वअध्यक्ष मन केसीको नेतृत्वमा सबै राज्यमा निर्वाचन समिति गठन गरिएको एनआरएन अस्ट्रेलियाले जनाएको खबर कान्तिपुरमा छ  ।