१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरी सङ्गठनको पुनःसंरचना गरिने

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७३, शनिबार ०५:३४

काठमाडौं । गृह मन्त्रालयले प्रहरी सङ्गठनको पुनःसंरचना गर्ने विषयमा सम्बन्धित उच्च अधिकारीसँग छलफल गरेको छ । प्रहरी सङ्गठनको पुनःसंरचनाको सुझाव दिन सरकारले गठन गरेको कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी तयार पारेको सुझावको मस्यौदामाथि मन्त्रालयमा छलफल भएको हो ।

बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानको व्यवस्थाअनुसार प्रहरी सङ्गठनलाई रुपान्तरण र विकास गर्न आवश्यक पर्ने ऐन शीघ्र तर्जुमा गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

प्रहरी सङ्गठनको पुनःसंरचनाको सुझाव दिन सरकारले २०७२ फागुन ६ गते पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाह, सहसचिवद्वय कृष्णप्रसाद रावत र चत्रबहादुर बुढा, पूर्वसहसचिव सुधीरकुमार शाह हुनुहुन्छ ।

बैठकमा सरकारका महान्यायाधिवक्ता रमण श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, कानुन सचिव टेकप्रसाद ढुङ्गाना, सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई, मुख्य अनुसन्धान अधिकृत दिलीपराज रेग्मी, वरिष्ठ अधिवक्ताद्वय सूर्य ढुङ्गेल र सतिश कृष्ण खरेललगायत सहभागी हुनुहुन्थ्यो ।