१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रसुवाको सुरुङभित्र फसेका १७ कामदारको सकुशल उद्धार

sarusaru
६ असार २०७६, शुक्रबार ०४:३०

रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ।

बिहीबार राति ८ बजेतिर गएको सुख्खा पहिरोले सुरुङको प्रवेशद्वार थुनिँदा एक सय मिटर भित्र काम गरिराखेका कामदार अलपत्र थिए।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ११ नेपाली र छ चिनिया कामदारको शुक्रबार विहान सकुशल उद्धार गरिएको हो। ‘सुरुङभित्र रहेका सबैको उद्धार गरिसकियो,’ उनले सेतोपाटीसँग भने, ‘एक जना नेपाली कामदार सामान्य घाइते हुनुहुन्छ। अरु सकुशल छन्।’

रसुवामा एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ। सुरुङभित्र थुनिएकाहरुको उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी खटिएका थिए।

सुरुङको मुख मात्रै थुनिएकोले उद्धारमा सहज
भएको हो।

‘सुरुङभित्र थुनिएकालाई अर्को बाटोबाट बाहिर निकालिएको हो,’ उनले भने, ‘आयोजना स्थलमा अहिले पनि पहिरो खसिराखेको छ। काम रोक्न भनेका छौं।’ आयोजनामा तीन वटा सुरुङ खनिएको छ।

सुरुङभित्र थुनिएका कामदारको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको पनि उनले बताए। ‘दुई जना डाक्टरले उहाँहरुको स्वास्थ्य अवस्था हेर्नुभयो सामान्य रहेछ,’ प्रजिअ भण्डारीले सेतोपाटीसँग भने।

सुरुङभित्र थुनिएकाहरुको ११ घण्टापछि सकुशल उद्धार गरिएको हो।
सेतोपाटी