७ बैशाख २०८१, शुक्रबार
Follow Us

मेलम्ची आयोजनाको काम सुरु हुँदै

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार ०५:५१

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ । केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ ।

सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने आउट फलको काम पनि सुरु भएको छ । समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वक्र्स निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र (टेण्डर) आव्हानको समय सकिएकाले यसको मूल्यांकन भईरहेको छ ।

हेडवक्र्स ९मुहानको संरचना ० निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो । प्रवक्ता शाक्यले भन्नुभयो, ‘अब मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन साफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स(साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड वक्र्स अन्तर्गत ड्याम निर्माण र पुल निर्माण लगायत छन्, उहाँले भन्नुभयो, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्ट लगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्यौलता समाप्त भएको छ ।’

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आव्हानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सुचारु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताउनुभयो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ ।