११ बैशाख २०८१, मंगलवार
Follow Us

के हो एनआरएन नर्वेको किचलो ?

नेपालब्रिटेन डट कम्
६ असार २०७६, शुक्रबार ०८:०५

खिलक बुढाथोकी  ।
नर्वे (ओस्लो)– गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको जुन ८ तारिकमा तय गरिएको छैठौं महाअधिवेशन स्थगन भएको छ।
सन्जिव कुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले एक महिनाको समय राखेर बनाएको निर्वाचन समितिले नर्वे एनआरएनको आन्तरिक विवादले गर्दा नयाँ कार्य समिति नबनेपछि महाधिवेशन स्थगन हुन पुगेको हो।

निर्वाचन प्रक्रियामा उब्जेको आलोचना, विरोध र असन्तुष्टिबीच छलफल गरेर समाधान खोज्दा पनि महाधिवेशन सम्भावना नदेखिएकाले स्थगन गरिएको एनआरएन नर्वेको फेसबुक पेजमा जारी सार्वजनिक सूचनामा उल्लेख छ।

किन भयो विवाद ?

निर्वाचन समिति बनाए लगत्तै कार्यसमितिले मतदाता नामावली संकलन थालेको थियो। कार्यसमितिले मतदाता नामावलीको अन्तिम सूची तयार नपार्दै मौखिक निर्देशनमा निर्वाचन समितिलाई चुनावी प्रक्रिया थाल्ने निर्देशन दिएको थियो।

निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न आह्वान गरेपछि स्वतन्त्र रुपमा अध्यक्षमा नयन मल्ल, प्रेम परियार र प्रलय रिजालको उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारी सूचीमा उल्लेख छ। त्यसैगरी अन्तराष्ट्रिय समन्वय परिषद्मा द्वारिका महर्जन (वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य) र राजु अर्याल (वर्तमान महासचिव)ले उम्मेदवारी दिएका थिए।

तर, चुनावी प्रक्रिया गलत भएको भन्दै केही व्यक्तिले उम्मेदवारी फिर्ता गरेपछि भने चुनाव/महाधिवेशन हुने नहुने अन्योल हुन पुगेको हो। चुनाव हुने सम्भावना देखिएपछि भने स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दर्ता गराएका रिजालले भने चुनाव भन्दा सहमतिको बाटो रोजेर कार्यसमिति बनाउनुपर्ने भन्दै उम्मेदवारी फिर्ता लिएका थिए। नेतृत्व लिएर केही गरौं भनेर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरे पनि चुनाव हुने अवस्था आएपछि सहमतिको बाटो बनोस् भन्ने चाहनाले फिर्ता लिएको रिजालले बताए।

तर, रिजालले फिर्ता लिए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका मल्ल र परियारबीच भने सहमतिको सम्भावना देखिएन्। परियार र मल्लबीच सहमति नभएर चुनावै हुने अवस्था देखिएपछि भने अध्यक्षका प्रत्यासी परियार लगायत अन्य पदमा उम्मेदवारी दिएका केहीले भने फिर्ता लिने म्याद सकिएपछि उम्मेदवारी फिर्ता लिएका थिए। निर्वाचन समितिले भने म्याद सकिएपछि आएको उम्मेदवारी फिर्तालाई स्वीकार्दै निर्विरोध उम्मेदवारको नयाँ सूची तयार गर्यो। उक्त सूचीलाई भने एनआरएन नर्वेले प्रकाशन गरेको थियो। प्रकाशित नयाँ सूचीमा भने महासचिव, सचिव, कोषाध्यक्ष जस्ता महत्वपूर्ण पद नै खाली छन्।

निर्वाचन समितिको कार्यप्रति असन्तुष्ट जनाउँदै असन्तुष्ट पक्षले युरोप कमिटी र केन्द्रीय कमिटीलाई प्रक्रिया गलत भएको भन्दै पत्र लेखेको छ। माथिल्लो निकायले सहमति सम्भव नभए पहिले प्रकाशित उम्मेदवारकै सूचीलाई नै अन्तिम मानेर चुनाब गराउनु भनेर सल्लाह दिएको एनआरएन नर्वेका एक सदस्यले जानकारी दिए। तर, माथिल्लो निकायको निर्देशनलाई भने निर्वाचन समितिले मानेन। निर्वाचन समितिले माथिल्लो निकायको निर्देशनलाई स्वर्कान नसकिने भन्दै वर्तमान कार्यसमिति समक्ष असहमतिपत्र पेश गरेको छ।

को छन् निर्वाचन समितिमा?

निर्वाचन समितिमा शालिग्राम अर्याल (वर्तमान उपाध्यक्ष), सबिता महर्जन (वर्तमान महिला संयोजक), मनोज उपाध्याय (ओस्लोस्थित विधार्थी संगठन नेस्कोका पूर्वाध्यक्ष) र शर्मिला श्रेष्ठ लगायतको समिति बनाएको थियो। तर, समितिमार्फत नयाँ कार्यसमिति तयार गरेर जुन ८ गते महाधिवेशन गराउन सम्भव भएन। निर्वाचन समितिले नयाँ कार्य समिति बनाउन नसके पनि समिति भने यथावत छ। विघटन पनि भएको छैन भने वर्तमान कार्य समितिमा राजिनामा पनि बुझाएको छैन। एनआरएन नर्बेका महासचिव तथा निर्वाचन समितिका सदस्य राजु अर्याल भने महाधिबेशनको लागि छलफल भइरहेको बताए। उनका अनुसार चाँडै नै महाधिवेशनको नयाँ मिति घोषणा गरिने छ।

तर, चुनाव स्थागनसँगै विवादले गर्दा भने वर्तमान कार्यसमितिलाई महाधिवेशन गराउने चुनौती भने छ। अघिल्लो वर्षको पनि पूर्ण रुपमा अधिवेशन गराउन नसकेको आरोप छ।

किन विवादित भयो वर्तमान कार्यसमिति ?

वर्तमान विधानमा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यको काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट व्याख्या नभएको हुँदा अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यबीच हुने अप्रत्यक्ष टसलले पनि कार्यसमितिका निर्णयहरु विवादास्पद हुने गरेको छ। कार्यसमिति बैठकमा सल्लाहकार समिति तथा विभिन्न उपसमितिका पदाधिकारीलाई उपस्थित गराउँदा पनि समस्या हुने गरेको बुझिएको छ।

नर्वेमा करिब २५ सयको संख्यामा नेपाली रहेको अनुमान गरिन्छ। तर, एनआरएनको सदस्यता भने करिब ६ सय ८० जनाले मात्रै लिएका छन्। नर्वेबाट केन्द्रको चुनावमा करिब ६८ जना मतदानको लागि जान पाउँछन्। त्यसैले केन्द्रको पनि चासो रुपमा रहने हुँदा केन्द्रले भने स्थगनपछि कुनै निर्देशन दिएको छैन्। नर्वेबाटै विवादलाई समधान गर्न नसकेको खण्डमा भने केन्द्रको निर्देशन पर्खिनुपर्ने अवस्था देखिएको छ। तर, एनआरएन नर्वेका महासचिव अर्याल भने छलफलको क्रम चलेर महाधिवेशनको मिति तय गर्न कार्यसमिति जुटेको छ।

निर्वाचन समितिमार्फत उम्मेदारी दर्ता गरेको पत्र र उम्मेदवारी फिर्तापछि घोषणा भएको नयाँ कार्यसमितिको सूची।