१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजनीतिमा डाइनाको प्रवेश ह्वात्तै


१४ असार २०७३, मंगलवार १२:१०

मिलन शर्मा ।
अघिल्ला पुस्ताले राmeelan-700x700जनीतिलाई समाज सेवाको भावना जागृत गरेर जेलनेल खाएर गरेको काम पछिल्लो नयाँ पुस्ताले फुस्सा उडाउन थालेको देखिन्छ । पुराना नेताहरु जेल परेको अवस्था सुनाउँदा अहिलेका नेताहरुले अचम्म मान्ने मात्र हैन राजनीति गर्ने त आर्थिक सम्पन्नताका लागि मात्र हो भन्ने देखिन आएको छ । लोकतन्त्रको स्थापना भएको एक दशकपछि मात्र सम्बिधानसभाबाट नयाँ सम्बिधान त आयो तर त्यसको कार्यान्वयनमा एकपछि अर्को सगरमाथावत् व्यवधानहरु ठडिइ नै रहेका छन् ।

राजनीतिमा नेतृत्वको अकर्मण्यताले राज्य संयन्त्र लङ्गडो जस्तै हुन पुगेको छ । यथाअवधि नै भन्ने हो भने विगत १९ वर्षदेखि स्थानीय निकाय प्रतिनिधिविहीन बनेका छन् भने विकासका काममा बाँडिचुडीको खेल स्थानीय स्तरदेखि केन्द्रसम्म नै फस्टाउँदो छ । अझ भन्ने हो भने जनता भोकभोकै मर्नेबाँच्नेको दोसाँधमा तड्पिरहेका बेला सत्तामा भने बाह्रैमास दशैंको भोज जस्तै चलिरहेको छ । यसैले पनि राजनीतिमा जनसमर्थन पातलिँदो छ भने नेतामा अविश्वास बाक्लिदो छ । यसैले पनि राणाशासनदेखि लोकतन्त्रको आशामा रहेका जनता गणतन्त्रआएपछि झनै निरास बन्न पुगेका देखिन्छन् ।

भ्रष्टाचारको जालो यतिसारो फिँजारिएको छ कि, त्यसको चक्रव्यूहमा जनतारुपी अभिमन्यू फसेको फस्यै छन् । कानूनी राजको अन्त्य भएको जस्तो भएको जनगुनासो बढि नै रहेको छ । सरकारी निकायमा संस्थागत रुपमा भ्रष्टाचारको व्याड हल्कँदो छ भने यसको संरक्षणमा माली बनेर राजनीतिक दलहरु लगिरहेका छन् । भोलिका दिनमा चुनावी मैदानमा जनताका अगाडि के भनेर जाने ? भन्ने सम्म पनि हेक्का नराखी आँखा चिम्लेर भ्रष्टाचारको माटो सुँघिरहेका समाजसेवा समूहले आज जनसमक्ष राखेको वाचा निर्वाचनमा जितेर राजधानी छिरेसँगै भुल्ने गरेको यथार्थ हाम्रा सामू छन् ।

चाहे विद्युत क्षेत्रमा होस् वा खानेपानी वा सडक, पुलपुलेसा सिँचाई वा अन्य ठेक्कापट्टाकै काममा किन नहोस् राजनीतिक नातावादले हल्लीखल्ली नै मच्चाएको छ । यसको समाधानका लागि सरकारी कर्मचारीदेखि प्रशासकसम्म तहगत जालो फिँजिएर रहेको छ । यसैले त जनताका अधिकारहरु पनि कुण्ठित रहेका छन् । मौन यात्रामा जनसमूह कहिलेसम्म हिँड्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

राजतन्त्रले देशको सर्वनास गराएको भन्ने दलीय झण्डा बोक्नेहरुले नै आज जनताको बर्खिलापमा आश्वासका लाप्सा बाँड्दै हिँड्नुले जनतामा राजाको समर्थनले मौन स्वीकृति दिएको भए पनि परिवर्तनको सँघारमा उभिएको नेपाललाई पुरानै बाटोमा लैजान कठिन प्रायः त छ नै यसका साथै चेतनाको स्तर माथि उठिसकेका जनताका सामू राजनीदिक दल र तिनका नेताहरुले रनभुल्लमा पार्ने प्रयास गर्नु पनि सान्दर्भिक देखिने विषय भएन । यसैले मुलुकले राजनीतिक कुटनीतिलाई अगाडि बढाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै देश विकासमा लाग्नु पर्नेमा भित्तामा कुहिना जोत्न खोज्ने प्रवृत्तिले नेपाल अझ बढी चपेटामा पर्दै गएको छ । यसको निराकरण गर्दै देशलाई भ्रष्टाचारमुक्त गराई सफलताको मैदानमा अवतरण गर्नका लागि हाम्रा माथिल्ला राजनीतिक खेलाडिहरुको मनस्थितिम कहिले परिवर्तनको घण्टी बज्ने हो सो समयले नै बताउँला ।

समाजका लागि फेरबदल र परिवर्तनका लागि भन्दै गठन भएका पवित्र लक्ष्यपूर्ण राजनीतिक दलमा दिनानुदिन बढ्दै गएको डाइनाहरुको समूहले काम गर्ने भावना भएका मौरीहरुलाई कहिले सम्म यथास्थानमा राख्ने हो वा छिट्टै नै किनारा लगाउने हो, भविष्यको गर्भमाछाड्दै भ्रष्टाचार मुक्त समाजको निर्माणका लागि उचित शासन व्यवस्थाका लागि निडर भई संघर्ष मैदानमा उत्रनु आजको आवश्यकता भएको छ ।