१५ बैशाख २०८१, शनिबार
Follow Us

डा. लामिछानेको अन्तर्दृष्टि लोकार्पण

नेपालब्रिटेन डट कम्
७ असार २०७६, शनिबार १४:२६

जापानस्थित चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत डा. कमल लामिछानेको पुस्तक अन्तर्दृष्टि लोकार्पण गरिएको छ । काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा शनिबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा आख्यानकार गौचनले पुस्तकमा लेखकको इमानदारी प्रस्ट देखिने बताइन् । १२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिलाई नेपालीहरुकै गौरवको विषय रहेको रहेको उनले बताइन् ।

पुस्तकले लामिछानेका बाल्यकालदेखि देशदेखि विदेशसम्म अध्ययन गर्न जाँदाका कठिनाइ, उनका संघर्ष, मिहिनेत एवम् कामप्रतिको समर्पणलाई देखाएको गौचनको भनाइ छ । नेपाली समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण एवम् उनीहरुलाई धार्मिक मूल्यमान्यताले कसरी असर गर्छन् भन्ने कुरा पनि पुस्तकमा उजागर गरिएको उनले बताइन् ।
विद्यालय तहदेखि लामिछानेले जसरी शैक्षिक क्षेत्रमा प्रगति हासिल गर्दै गए र उनले एकएक गर्दै सफलताका सोपान चढ्दै गए भन्ने पनि पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ ।

व्यक्तिलाई उज्यालो भविष्यतिर डो¥याउन आत्मनिर्भर हुनुपर्छ भन्नेमा पुस्तकले जोड दिएको उनले बताइन् । पुस्तकले नेपालको शैक्षिक बेथिति एवम् विदेशीहरुले अपनाएका पद्धतिलाई नेपालमा पनि लागू गरेर समतामूलक विकास गर्न सकिने धारणा पनि प्रस्तुत गरेको गौचनको भनाइ छ ।

अपांगता भएका व्यक्तिप्रतिको आम धारणालाई पनि पुस्तकले उजागर गरेको उनले बताइन् । कुनै पनि मानिसले आफ्नो सपनाप्रति प्रतिबद्ध भयो भने उसले अवश्य नै सफलता हासिल गर्न सक्छ भन्ने कुरालाई पनि यहाँ प्रस्तुत छन् । अपांगता भएका व्यक्तिभन्दा पनि नभएका व्यक्तिका लागि अझ बढी यो पुस्तक उपयोगी हुने उनले दाबी गरिन् ।

अर्का वक्ता आख्यानकार न्यौपानेले दृष्टिविहीनहरुले आफ्नो जीवनलाई हेर्ने दृष्टि विशाल रहेको बताए । दृष्टिविहीहरु जीवनभर ध्यानमा रहने गरेको र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेको उनको भनाइ छ । प्रत्येक मानिसभित्र एउटा संसार हुने र त्यो दृष्टिविहीनहरुको अझ ठूलो संसार रहने उनले बताए । यो पुस्तक कहीँकतैबाट पनि दृष्टिविहीनले लेखेको भन्ने नलाग्ने उनको भनाइ छ ।
पुस्तकले राजनीति, भूगोल, विकास, समाज आदि सबै विषयलाई खोतलेको उनले बताए । लामिछानेको प्रतिभा, क्षमता, सफलता एवम् संघर्ष आँखा देख्नेहरुका लागि चुनौतीपूर्ण रहेको न्यौपानेको भनाइ छ । पुस्तकमा लामिछाने कहीँकतै घमण्डी नलाग्ने र उनी त्यहाँ स्वाभिमानी देखिएको उनले बताए । उनले भने, ‘दृष्टिविहीनहरुलाई कहिल्यै लोडसेडिङ कहिल्यै हुँदैन, सूर्य कहिल्यै अस्ताउँदैन, अँध्यारो कहिल्यै हुँदैन, यसको उदाहरण डा. कमल लामिछाने हुन् ।’

कार्यक्रममा शिक्षाविद् माथेमाले पुस्तकमा गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट प्रस्तुत गरेको बताए । साथै दृष्टिविहीन व्यक्ति, उनीहरुलाई समाज एवम् परिवारले हेर्ने दृष्टिकोण आदिलाई सूक्ष्म रुपमा खुलाइएको उनको भनाइ छ । कुनै पनि देशको विकासका लागि नियमकानुन, त्यसको परिपालना आदिले महत्त्वपूर्ण भूमिका खेल्ने र त्यसो भए मात्र समृद्धितर्फ अघि बढ्न सकिने कुरा पुस्तकमा उल्लेख भएको उनले बताए ।

आफूलाई पुस्तकले असाध्यै प्रभावित गरेको र सबैका लागि उपयोगी भएको उनको भनाइ छ । विशेषगरी युवाहरुका लागि पुस्तक अझ बढी उपयोेगी भएको धारणा छ । संघर्ष, सफलता, लगाव, प्रतिबद्धताजस्ता विषयले उनलाई सफलतातर्फ अघि बढ्न सघाएको उनले बताए ।

पुस्तकका लेखक लामिछानेले आफूले किन पुस्तक लेखें भन्ने विषयमा प्रस्ट्याएका थिए । अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने हेयपूर्ण दृष्टिकै कारण आफू पुस्तक लेखेर केही व्यक्तिको मात्र भए पनि सोचाइ परिवर्तन गर्न सकियो भने पनि त्यो आफ्नो जीवनकै एउटा सफलता हुने ठानेर यसतर्फ लागेको उनले बताए । अपांगता भएका व्यक्तिसँग ‘वर्किङ टुगेदर वाकिङ टुगेदर’ को भावना जगाउने आफ्नो उद्देश्य रहेको र त्यसका लागि आफू लागिपरेको उनको भनाइ छ । आफू जहिल्यै पनि चुनौतीसँग जुध्न मन पराउने उनले बताए । त्यही कारण यो अवस्थासम्म आउन सजिलो भएको उनको भनाइ छ ।

फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ राखिएको छ ।

Chat Conversation End
Type a message…