१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सङ्गीतले तराई र पहाडलाई जोड्नु पर्छ : पूर्वराष्ट्रपति डा रामवरण यादव

नेपालब्रिटेन डट कम्
७ असार २०७६, शनिबार १४:४०

पूर्वराष्ट्रपति डा रामवरण यादवले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सङ्गीत र साहित्यले बिग्रिएको सम्बन्धलाई समेत सुमधुर बनाउन सक्ने हुँदा कलाकारले हरेक क्षेत्रका नागरिकको भावनालाई बुझेर सिर्जना पस्कनुपर्ने बताउनुभयो ।

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा उहाँले कलाकार र साहित्यकारले राष्ट्र निर्माणमा महत्वूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

“मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।” उहाँले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताउनुभयो । उहाँले विकासको प्रक्रियाले प्रकृतिलाई निकै हानि नोक्सानी पु¥याइरहेको भन्दै अब रचनात्मक ढङ्गले यी विषयमा कलम चलाउनुपर्ने बेला आएको बताउनुभयो । “विकास भनेकै बाटो हो भन्ने बुझाइका कारण जथाभावी डोजर चलाउँदा पहाडका धेरै ठाउँमा पानीका मुहान सुक्दै गइरहेका छन्, जसका कारण खानेपानीको समस्या निम्तिदै गइरहेको छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद रु एक लाख र सम्मानपत्रले सम्मान गरियो । यस्तै वर्ष गीत पुरस्कारबाट डिआर उपाध्याय र हाङयुग अज्ञात पुरस्कृत हुनुभयो । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई पुरस्कृत गरियो । उहाँहरु चारै जनालाई नगद रु ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।

सङ्घ सल्लाहकार यादव खरेलले राष्ट्रिय स्रष्टा सम्मानबाट पुरस्कृत थापाको व्यक्तित्वका बारेमा चर्चा गर्दै उहाँ अन्तरमुखी र सहयोगी स्वभावको कलाकार भएको बताउनुभयो । उहाँले दार्जिलिङ र नेपालको सुगम सङ्गीतलाई जोड्न महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

साहित्यकार प्रकाश सायमीले गीतकार थापाले नारायण गोपाललाई स्थापित गर्न र माधव घिमिरेलाई राष्ट्रकवि बनाउनमा समेत अग्रणी भूमिका रहेको बताउनुभयो । सम्मानित गीतकार थापाले सम्मानबाट आफूलाई आन्तरिक ऊर्जा मिलेको बताउनुभयो । सङ्घका अध्यक्ष चूडामणि देवकोटा र अधिवक्ता तथा सदस्य रमेश कोइरालाले गीत सङ्गीत र साहित्यका माध्यमबाट समाजलाई सही मार्गमा डो¥याउन सङ्घले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो ।