१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पोर्चुगलमा पत्रकार महासंघको शाखा गठन

नेपालब्रिटेन डट कम्
८ असार २०७६, आईतवार १९:४९

पोर्चुगलमा पत्रकार महासंघको संयोजक छन्त्याल, सह -संयोजकमा थापा,

लिस्बन, पोर्चुगल । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति अध्यक्ष गोविन्द आचार्यले सरकारद्वारा मिडिया काउन्सिल विधेयक फिर्ता हुनुपर्ने वा सच्याइनु आवश्यक रहेको र महासंघ यस मुद्दामा पछाडि नहट्ने पोर्चुगलको राजधानी लिस्बनमा नेपाल पत्रकार महासंघ पोर्चुगल उप-शाखा तदर्थ समितिद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रम बताउनु भएको छ ।

ट्युनिसिया भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको विश्व सम्मेलनमा भाग लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाको आमन्त्रणमा युरोप आउनु भएका आचार्यको युरोपका नेपाली पत्रकारहरुसंगको अन्तरक्रियाको क्रममा महासंघको इतिहासमा अध्यक्षस्तरमा पोर्चुगलको पहिलो भ्रमण सम्पन्न भएको हो ।

सो अवसरमा अध्यक्ष आचार्यले महासंघको पवित्र संस्था भित्र प्रवेश गर्दा सबैले राजनैतिक, क्षेत्रीय, जातीय वा कुनैपनि खालको विचार र धारणाहरुलाइ जसरी मन्दिरमा प्रवेश गर्नु अगाडि जुत्ता बाहिर खोलेर पसिन्छ, महासंघको मन्दिर भित्र पस्दा पनि यसै गर्नु पर्नेमा जोड दिनु भयो ।

महासंघका युरोप शाखाका अध्यक्ष केजिन राइले युरोपमा नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारहरुको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले युरोप भरि नेपाल पत्रकार महासंघका उपशाखाहरु गठन गरिनु पर्नेमा पनि जोड दिनु भयो । सो अवसरमा अनेसास ( सन् २००३) पोर्चुगलका संस्थापक अध्यक्ष समेत रहनु भएका राइलाइ अनेसास पोर्चुगलले प्रमाणपत्रकासाथ विशेष सम्मान गरेको थियोे ।

योगेन्द्रमिलन छन्त्यालको सभापतित्व, राजकुमार थापाको संचालन र पेम्बागेलु शेर्पाको स्वागतमा सम्पन्न अन्तरक्रियामा पोर्चुगलस्थित लगभग सम्पुर्ण संघ-संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको उपस्थिति थियो, उपस्थित अधिकांशले पत्रकार महासंघ पोर्तुगल गठन प्रक्रियाको स्वागत गर्दै आफ्ना धारणा र जिज्ञासाहरु राखेका थिए ।

अन्तरक्रिया पछाडि बसेको पोर्चुगलका नेपाली पत्रकारहरुको भेलाले उपशाखा तदर्थ समिति सर्वसम्मतले गठन गरेको छ । समितिको संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सह- संयोजक राजकुमार थापा, प्रवक्ता पेम्बागेलु शेर्पा, सदस्यहरुमा भगवान गिरी, याम ब. गुरुङ, बासु सत्याल र निरन्जन सापकोटा तथा सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याल चयन हुनु भएको छ ।