१२ बैशाख २०८१, बुधबार
Follow Us

लण्डनमा पत्रकारको रोचक कार्यक्रमः ट्राफिक जामबाटै सभापतित्व ग्रहण !

नेपालब्रिटेन डट कम्
९ असार २०७६, सोमबार १७:०९

लन्डन । समाजलाई सुसुचित गर्ने र कमिकमजोरी देखाउन माहिर पत्रकारहरुद्वारा लण्डनमा आयोजित एक कार्यक्रममा आफ्नै कमीकमजोरी लुकाउन सकेनन् ।
नेपाल पत्रकार महासंघ युकेले शनिवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रम निकै रोचक रह्यो । संघसंस्थाका प्रमुख र समाजका अगुवाहरुलाई समेत आमन्त्रण गरिएको कार्यक्रम करिब दुई घण्टा ढिला शुरु भयो ।
लन्डनस्थित ह्यारो बरो फुटवल क्लवमा १ बजे सुरु हुने भनिएको कार्यक्रम करिब तीन बजेसम्म शुरु नभए पछि कार्यक्रममा उपस्थित अतिथिहरु समेत दिक्क मान्दै थिए ।

ढिलैगरि कार्यक्रम शुरु हुने बेलासम्म आयोजक संस्था नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी मगर कार्यक्रम स्थलमा आइपुगेनन् । कार्यक्रम शुरु गरियो । कार्यक्रम संचालकले अध्यक्ष खपांगी ट्राफिजाममा परेको जानरकारी दिँदै लण्डनको व्यस्त ट्राफिक जाममा परेका खपांगीलाई उनको कार भित्रै सभापतित्व ग्रहणको लागि आग्रह गरे ।

संचालकले सभापतिको आग्रह अनुसार भन्दै कार्यक्रमलाई अगाडि बढाउँदा कार्यक्रम हल एकाएक रोचक बन्यो । उपस्थित समाजका अगुवाहरु मुखामुख गर्न थाले । करिब १ सय ५० जना अट्ने क्षमता रहेको कार्यक्रम स्थलमा करिब दुई दर्जन अतिथिहरु उपस्थित थिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश परियारका अनुसार महासंघले आयोजना गरिएको कार्यक्रमको बारेमा कार्यसमितिका सदस्यहरुलाई समेत समयमा खबर थिएन ।

अन्तरसंवाद कार्यक्रम गर्ने विषयमा महासंघको बैठकमा कहिलै छलफल भएको छैन बैठकको निर्णय अनुसार वेलायतस्थित नेपाली मिडियाको प्रमुखहरुसँग छलफलको कार्यक्रमको आयोजना गरिनु पर्ने यो कार्यक्रम किन र कसरी आयोजना गरियो आगामी बैठकमा हामी छलफल गर्ने परियारले वताए ।

नेपालबाट आएका वरिष्ठ पत्रकारहरुको सहभागितामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्रवासमा क्रियाशिल पत्रकारहरुको स्तर वृद्धि, गैरआवासीय नेपाली संघ र पत्रकार बीचको सम्वन्ध, विदेशी भुमिमा नेपाली पत्रकारीता बिषयमा आआफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रमको व्यानर सहित ढिलो गरि कार्यक्रम स्थलमा छिरेका अध्यक्ष खपांगीले आयोजक भएर ढिलो गरि कार्यक्रममा उपस्थित हुँदा आफै लज्जित भएको वताए ।

नेपालबाट निजी भ्रमणमा बेलायत आएका नेपाल प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, अनलाईन खबर डटकमका समाचार सम्पादक मातृका पौडेल र नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य तथा एनआरएन अभियन्ता संगीता मरहट्टाको समेत प्यानल छलफलमा बेलायतस्थित संघसस्था प्रतिनिधीहरुले आआफ्नो विचार व्यक्त गरे ।

छलफलमा भाग लिँदै बरिष्ठ पत्रकार खगेन्द्र नेपालीले छलफलको बिषयबस्तु प्रष्ट नभएको वताए । नेपालीले विदेशमा पूर्णकालीन रुपमा पत्रकारीता गर्ने पत्रकारको संख्या कम भए पनि पछिल्ला तीन चार बर्ष देखि आर्कषक पेशाको रुपमा पत्रकारीता बिकसित हुँदै गएको वताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले समाजबाट सही सूचनाको अपेक्षा राखेको वताउँदै डायसफोरामा वेलायतबाट भैरहेको नेपाली पत्रकारीता निकै बलियो भएको वताए ।

बेलायतको नेपाली समुदायका अगुवा समेतको सहभागिता रहेको कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरुबीच हातेमालो जरुरी रहेको बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले पत्रकारहरु स्वतन्त्र रुपमा काम गर्न आफै निवास्र्थ भएर काम गर्नुमा जोड दिए ।

प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले औपचारिक कार्यक्रममा मात्र सीमित नरही अनुसन्धानमूलक समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई आग्रह गरे ।

तमुधी यूकेका अध्यक्ष नन्दजंग गुरुङले तमुधी यूके पत्रकारसँग हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।

अन्तरसंवादमा पत्रकार भागीरथ योगीले प्रवासमा नेपाली मिडिया, मिडिया काउन्सिल विधेयक, एनआरएन अभियानमा संचार माध्यमको भूमिका विषयमा केन्द्रित भएर कार्यक्रम संचालन गरे ।

महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न अन्तरसंवादको संचालन महासंघ यूके शाखाका महासचिव संजयभक्त कडेलले गरेका थिए ।

कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजन श्याम लुइँटेलले गरेका थिए ।

कार्यक्रममा जनप्रगतिशील मंच यूकेका अध्यक्ष सुरेश गौतम, तमुधी यूकेका पुर्वअध्यक्ष ज्ञाम गुरुङ, सोलिसिटर राजु थापा, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, आइसिसि सदस्य रामशरण सिंखडा, एनआरएनए अभियन्ता कृष्ण तिमल्सेना, समाजसेवी आरती श्रेष्ठ, सरस्वती केसी, कलाकार सनम वैराग, सिर्जनशील नेपाली समाज यूकेका पुर्वअध्यक्ष धनवहादुर सार्की, गुल्मी समाज युकेका पूर्वअध्यक्ष राम गलामी, अध्यक्ष टोप पल्ली, नेपाल प्रेस यूनियन यूकेका अध्यक्ष विपिन निरौला, पत्रकार राजेन्द्र भट्ट, नेप्लीज सेफ एसोसियसनका अध्यक्ष दधि आचार्य, व्यवसायी कमल पौडेल, व्यवसायी कृष्ण तिवारी, नेप्लीज व्रिटिश कम्यूनिटीका अध्यक्ष मिलन घिमिरे, साहित्यकार खगेद्र नेपाली, बन्र्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, पत्रकार फडिन्द्र भट्टराई, व्यवसायी विष्णु खरेल, सामाजसेवी क्षमता ढकाल, कमला राना लगायतको सहभागिता थियो ।