१३ बैशाख २०८१, बिहीबार
Follow Us

११ वर्षेको सुसाइड नोट–’कसैले माया गरेन’

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०३:२९

काठमाडौँ – ११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे । शनिबार राति बुबाआमा घरमा नभएको मौका छोपेर उनले आफैंलाई सिध्याए ।

अभिभावकहरू राति साढे ९ बजेतिर घर फर्किंदा समीर दलिनमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परे । प्रहरीले उनको साथबाट सुसाइड नोट फेला पार्‍यो । जसमा लेखिएको थियो, ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैनन् ।’

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार छिउजुका अनुसार सुसाइड नोटमा केही कारण लेखिएको देखिन्छ । नोटमा बालक समीरले घरमा दाइ–भाउजूले हेला गर्ने र स्कुलमा सर–मिसहरूले आफ्नो कुरा नबुझ्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कक्षामा केटाहरूलाई पिट्ने, केटीहरूलाई नपिट्ने र घरमा मलाई दाजु–भाउजूले हेला गर्ने ।’ उनले स्कुलका केही शिक्षकहरूको नाम तोकेर आफू बिरामी भएको कुरा पनि नपत्याएको उल्लेख गरेका छन् ।

शनिबार राति घटना भए पनि प्रहरी आइतबार दिउँसो मात्रै घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी वृत्त चापागाउँका इन्स्पेक्टर दिवस बस्नेतले घटनास्थलको मुचुल्का उठाएका थिए । उनले बालकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याइएको बताए । उनले भने, ‘घरमा कोही नभएको मौका छोपेर आत्महत्या सुसाइड गरेको देखियो ।’कान्तिपुरमा खबर छ ।