रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।
घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने अन्य दुई थुनुवा पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।