७ बैशाख २०८१, शुक्रबार
Follow Us

चट्याङले रुपन्देही र दाङमा छ जनाको मृत्यु

sarusaru
११ असार २०७६, बुधबार ०२:३३

रुपन्देही र दाङमा मंगलबार चट्याङ लागेर छ जनाको ज्यान गएको छ। रुपन्देहीमा तीन जना र दाङमा तीन गरी छ जनाको मृत्यु भएको हो।

मंगलबार साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका-७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका-२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका-७ का ६२ वर्षीय चन्द्रबहादुर विक छन्।

चट्याङ लागेर गम्भीर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुई जनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ वर्षीया ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

यता दाङमा पनि चट्याङ लागेर तीन जना बालकको मृत्युु भएको छ। मंगलबार बेलुकी ६:२५ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका-३ मौरीघाटका साजन चौधरी (१३), रमित चौधरी (११), विनाश चौधरी (११)को मृत्युु भएको दाङ प्रहरीले जनाएको छ

त्यसैगरी, चट्याङ लागेर मृतक विनाशका भाइ अविनाश चौधरी (८) गम्भीर घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारै जना बालक जामुनाको रूखमा चढेका चढेका थिए। उनीहरू रूखमा चढेका बेला परेको चट्याङले केहीको मृत्यु भएको हो।

गत वर्ष चट्याङ लागेर ६८ जनाको मृत्यु भएको थियो भने ४ सय जना घाइते थिए। यस वर्ष पनि चट्याङ लागेर ३१ जनाको मृत्यु भइसकेको छ भने एक सय ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।
सेतोपाटी