१२ बैशाख २०८१, बुधबार
Follow Us

दलाईका प्रतिनिधि भन्दै फर्काइए अमेरिकी

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार ०२:३६

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काएको छ । भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए ।

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए । तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ ।

उच्च स्रोतका अनुसार पेन्पा नेपाल आएको थाहा पाएलगत्तै चिनियाँ पक्षले उनलाई पक्रेर बुझाउनुपर्ने आशयको ‘सन्देश’ गृहमा पठाएको थियो । अमेरिकी राहदानीबाहक पेन्पालाई पक्राउ गर्दा अमेरिकाले आपत्ति जनाउने र यो कूटनीतिक विवादको विषय बन्ने भएपछि गृह मन्त्रालयले उनलाई फर्काउने नीति अख्तियार गरेको थियो ।