१३ बैशाख २०८१, बिहीबार
Follow Us

जागरणबाट फर्किएका प्रतिनिधिको गुनासो ‘गुटबन्दीले कांग्रेस कमजोर’

नेपालब्रिटेन डट कम्
१२ असार २०७६, बिहीबार ०३:१९

राष्ट्रिय जागरण अभियानबाट फर्केका कांग्रेसका प्रतिनिधिले पार्टी गुटबन्दीका कारण कमजोर भएको सुझाब दिएका छन् । उनीहरूले माथिल्ला समितिमा हुने चरम गुटबन्दीले तल्लो तहका नेता–कार्यकर्तामा निराशा थपेको प्रतिवेदन तयार गर्न लागेका हुन् । अभियानमा केन्द्रीय प्रतिनिधिले भोगेको समस्या र गर्नेपर्ने कामसहितका विषयमा पार्टीलाई सुझाब दिने क्रममा केन्द्रीय प्रतिनिधिले जिल्लादेखि स्थानीय तहबाट पार्टी गुटबन्दीकै कारण कमजोर भएको बताए ।

‘संघीयताअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई पूर्णता दिनुपर्छ,’ सुनसरीका प्रतिनिधि महेश आचार्यले भने, ‘तल्लो तहका नेता कार्यकर्ताले पार्टीका तह पूर्ण हुँदा मात्र कार्यक्रम झन् प्रभावकारी हुने बताएका छन् ।’विधानअनुसार पार्टी संरचना नबन्दा जागरण अभियान अपेक्षित सफल नभएको भन्दै केही प्रतिनिधिले भदौमा हुने दोस्रो चरणको अभियानअघि वडादेखि प्रदेश तहसम्मकै पार्टीका संरचनालाई पूर्णता दिन माग गरेका छन् ।

२५ वैशाखदेखि एक महिनासम्म कांग्रेसले सरकारविरुद्ध भण्डाफोर र आन्तरिक संगठन सुदृढीकरणका लागि देशव्यापी पहिलो चरणको राष्ट्रिय जागरण अभियान गरेको थियो । सभापति शेरबहादुर देउवाले बुधबारको बैठकमा एक महिनासम्म जागरण अभियानमा जिल्लामा गएर काम गर्ने नेताहरूलाई धन्यवाद दिएका थिए । उनले पार्टी संगठनका अनुभव, देखे–भोगेका कुरा आपसमा बताउन र सुझाब राख्न भनेका थिए । बैठकमा झन्डै ३० जनाले सुझाब राखेका छन् । बिहीबार बाँकी प्रतिनिधिले सुझाब राख्ने कार्यक्रम छ । नयाँ पत्रिकामा खबर छ ।