८ बैशाख २०८१, शनिबार
Follow Us

स्वास्थ्य सेवामा कर्मचारी छनौटका लागि परीक्षा शुरु

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार ०७:०६

काठमाडौं । महानगरको स्वास्थ्यतर्फ करार सेवामा कर्मचारी छनौट गर्न परीक्षा शुरु गरिएको छ । यसैक्रममा आज (शुक्रबार) मेडिकल अफिसर सातौं तहका उम्मेद्वारको राष्ट्रिय सभा गृहमा लिखित परीक्षा भइरहेको छ । १० पद संख्याका लागि १९ जनाको आवेदन प्राप्त भएकोमा परीक्षामा २ जना अनुपस्थित भए ।

परीक्षा सञ्चालन तथा शिफारिस समितिले स्वास्थ्य सेवातर्फ ४ पदमा करार सेवाबाट पदपूर्ति गर्न जेठ २ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आर्थिक बर्ष २०७५÷०७६ को १ नं. बिज्ञापनका रुपमा सातौं तहका १० जना मेडिकल अधिकृत माग गरिएको छ । त्यस्तै सहायक स्तर पाँचौंका हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याब टेक्निसियनमा क्रमश १०÷१० जना र श्रेणीबिहिन कार्यालय सहयोगीमा ४ जनाको माग गरिएको छ । लिखित र अन्तरवार्ताबाट परीक्षा लिइने यस प्रतिस्पर्धामा सातौं तहको मेडिकल अधिकृतमा १९ जनाको दरखास्त परेको थियो । त्यस्तै सहायक स्तर पाँचौं तहका ३ पदहरु हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याव टेक्निसियनमा क्रमश ३०८, ५७८ र ३८९ जनाको दरखास्त परेको छ । श्रेणीबिहिन कार्यालय सहयोगीमा २४४ जनाको उम्मेद्वारले फारम भरेका छन् ।

अन्य पदमध्ये स्टाफ नर्सको परीक्षा भोलि १४ गते पद्मकन्या बिद्याश्रम डिल्लीबजारमा, हेल्थ असिस्टेन्टको पर्सि १५ गते बिजय मेमोरियल मा. बि. डिल्लीबजारमा र ल्याब टेक्निसियनको असार १६ गते बिजय मेमोरियल स्कूलमै लिखित परीक्षा हुने तालिकामा उल्लेख छ । श्रेणीबिहिन कार्यालय सहयोगीको भने अन्तरवार्ता मात्र हुनेछ ।