८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालब्रिटेन डट कम विशेष : यस्तो छ एनआरएन निर्वाचनको जोड घटाउ

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार ११:०४

लण्डन । ‘भवनजी (भवन भट्ट) संस्थाको एक जिम्मेवार व्यक्ति रहेकाले उहाँले मलाई विगतको सहमतिअनुसार समर्थन गर्नुहुन्छ भन्नेमा म ढुक्क छु’, गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनको लागि नेतृत्वमा दौडधूप सुरु हुँदै गर्दा उपाध्यक्ष कुमार पन्तले विभिन्न सार्वजानिक कार्यक्रममा बोल्ने क्रममा भन्दै आएका छन् ।
आगामी कार्यकालका लागि अध्यक्षको दौडधूपमा रहेका पन्तको प्रतिक्रियाले के संकेत गर्छ भने वर्तमान अध्यक्ष भट्टले फेरि अध्यक्षमा उठ्ने मनस्थितिमा देखिएका छन् । सँगसँगै अर्का उपाध्यक्ष कुल आचार्य समेत नेतृत्वमा भिड्ने मनस्थितिमा रहेका कारण एनआरएनको नवौं विश्वसम्मेलन रोचक बन्ने निश्चित छ । मैदानमा अहिले पन्त खुलेरै आइसकेका छन् भने पन्त र आचार्य भने रणनीतिक रुपमा प्रस्तुत हुँदै पर्ख र हेरको अवस्थामा देखिन्छन् ।

यद्यपि, अघिल्लो कार्यकालमा पन्तले लिखित समझदारी गरेरै भट्टलाई अध्यक्षमा सघाएर आफू उपाध्यक्षमा सीमित भएका थिए । समझदारीअनुसार आगामी कार्यकालमा भट्टले आफूलाई अध्यक्षमा सघाउनु पर्ने पन्तले बताउँदै आएका छन् ।

‘त्यतिबेला भवनजी दुई पटक उपाध्यक्ष भइसकेको व्यक्ति भएकाले उहाँले अध्यक्षमा सहयोग गर्न आग्रह गरे बमोजिम म उपाध्यक्षमै सीमित रहेर समर्थन गर्ने र अर्को कार्यकाल मैले नेतृत्व गर्ने भन्ने सहमति भएको हो’ पन्तको भनाई छ, ‘तर, व्यक्तिगत सहमतिले संस्थाका अरु साथीहरुलाई ठूलो अर्थ नराख्न सक्छ । किनभने संस्थाले ल्याउनुपर्ने एजेण्डा नै मुख्य कुरा हुने हुँदा त्यसलाई प्रभावकारी ढंगले कसले कार्यान्वयन गर्न सक्छ भन्ने मुख्य विषय हो।’
पन्तले एनआरएनभित्र आफूले पुर्याएको योगदान, जनसम्पर्क र योजनाका कारण आफू नेतृत्वमा सबैभन्दा योग्य उम्मेदवार रहेको सन्देश दिने प्रयास गरेका छन् ।

अध्यक्षको लागि प्रमुख दावेदार मानिएका कुमार पन्तले अमेरिका, जापान, क्यानाडा, अष्ट्रेलिया, बेलायत, फ्रान्स, बेल्जियम लगायतका देशमा भ्रमण सम्पन्न गरेर हरेक देशमा आफ्नो रणनीति तयार गरेका छन् ।


भवन भट्ट र पन्त बीचको सहमति कार्यन्वयन होला ?

माथि उल्लेख गरिएझैं संघको गत निर्वाचनमा भट्ट र पन्त बीच भएको लिखित सहमति अहिले चर्चाको शिखरमा छ । पन्तले भट्ट र आफूबीच भएको सहमति कार्यन्वयन हुनेमा आशंका नगर्न सबैलाई आग्रह गर्दै आएका छन् । भट्ट र पन्त नाताले मामा भान्जा हुन् । उनीहरुको व्यक्तिगत सम्वन्ध निकै निकट रहेको निकटस्थहरु बताउँछन् । यद्यपि संस्थामा सामूहिक निर्णय हुँने हुँदा सम्झौता भंग भएर चुनावी प्रतिष्पर्धा पेचिलो त हुने होइन भन्ने आशंका पन्तमा देखिन्छ ।

जानकारहरुका अनुसार संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछानेलगायतको मध्यस्थतामा गरेको लिखित सहमतिलाई सजिलै उल्लंघन गरेर अगाडि बढ्न भने भट्टलाई सजिलो छैन ।
अर्कोतर्फ भट्टले संघका पूर्वअध्यक्ष शेष घलेकी श्रीमती जमुना गुरुङलाई निर्वाचनमा पराजित गर्दै संघको बागडोर समालेका थिए । आफ्नी श्रीमती जमुनालाई पराजित गरेको व्यक्तिलाई घलेले समर्थन गर्ने सम्भवना निकै कम भएको वताइन्छ । रणनितीक रुपमा तिनै जना पूर्वअध्यक्षहरु भट्टको विपक्षमा देखिएका छन् ।

भट्ले आगामी कार्यकाल दोहोर्याउने विषयमा औपचारिक रुपमा केही बोलेका छैनन् । उनका एक निकटवर्तीका अनुसार भट्टले आफूले चुनावी मुद्धा बनाएर आएका प्रमुख एजेन्डाहरुलाई आफ्नो कार्यकालमा सफलता पूर्वक सम्पन्न भएको भन्दै प्रशसन्नता व्यक्त गर्ने गरेका छन् । एनआरएन भवन, शंखमुल पार्क र लार्पाक नमुनावस्तीको काम आफ्नै कार्यकालमा सम्पन्न गरेर सफल अध्यक्षको रुपमा स्थापित हुन सकेको उनको बुझाई छ ।
यही बीचमा भट्टलाई पुनः नेतृत्व लिनको लागि दवाद दिन केही पूर्व एनआरएनहरु र केही निकटवर्ती सकृय रहेको वताइएको छ ।


शेष घले समूहले कसलाई सर्मथन गर्छ ?

एनआरएनको निर्वाचनको लागि पूर्वअध्यक्ष शेष घले समूह निर्णायक हुने आंकलन धेरैको छ तर सो समूहले आफ्नै उम्मेदवार खडा गरेर चुनाव जित्ने सम्भवना भने न्यून रहेको छ ।
एनआरएन अध्यक्षमा शेष घलेको प्रवेश हुँदा पूर्वअध्यक्ष जीवा लामिछानेले साथ दिएका थिए । घले अध्यक्ष हुँदा संघको महासचिव कुमार पन्त थिए । घले र पन्तको समधुर सम्वन्धकै कारणले घलेको पहिलो कार्यकाल चर्चाको शिखरमा पुगेको थियो ।
पन्तले घलेका हरेक एजेन्डा साथ दिएका थिए । गत महिना अष्ट्रेलिया भ्रमणमा गएका पन्त र घलेबीच घले निवासमा लामो भलाकुसरी समेत भएको थियो । स्रोतका अनुसार घलेले गत निर्वाचनमै कुमार पन्तलाई अध्यक्षमा उम्मेदवार बनाउन चाहेका थिए तर पन्तले भट्टलाई समर्थन गरेपछि बाध्य भएर आफ्नै श्रीमतिलाई उम्मेदवार बनाएका थिए ।
घले र पन्त बीचको पछिल्लो भेटमा समेत घले दम्पतीले आफूहरुले पहिलेनै पन्तलाई अध्यक्षको रुपमा संघमा हेर्न चाहेको वताएका थिए । घलेले ल्याएको भिजन २०२० को मुद्दालाई पन्तले आफूले कार्यन्वयन गर्ने वताँउदै आएका छन् । पन्तले क्यानाडामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वअध्यक्ष घलेको भिजन २०२० ले नै संघको भविष्य मार्गदर्शन भएको अभिव्यक्ति दिएका थिए ।

कुल आचार्यको कुरा
एनआरएनको दुई उपाध्यक्ष मध्ये अर्का उपाध्यक्ष कुल आचार्यले समेत अध्यक्षको लागि आफ्नो स्वाभाविक दावी हुने वताएका छन् ।
आचार्यलाई गत निर्वाचनमा जमुनामा घलेविरुद्ध प्रयोग गर्न भवन भट्ट समूहले उपाध्यक्ष पदमा ल्याएको थियो । जमुना घले कांग्रेसको उम्मेदवार भएको एक पक्षले दावी गरे पछि कुल आचार्यको अस्त्र प्रयोग गरेर भट्टले आफैँ कांग्रेसको उम्मेदवार भएको दावी गरेका थिए । आचार्यले घले समूहबाट उपाध्यक्षमा उम्मेदवार हुन खोजेपछि भट्ट समूहले अन्तिम समयमा आफ्नो पक्षमा तानिदिएको थियो । घले समूहले आचार्यलाई अहिले पनि धोकेवाजको रुपमा चित्रण गर्दै आएको छ । आचार्यले आफ्नो उम्मेवारीलाई नेपाली कांग्रेस समर्थक कार्यकर्ता बीच परीक्षणको रुपमा प्रस्तुत गरेका छन् ।

गैरआवासीय नेपाली संघको निर्वाचनलाई बुझ्नेहरु आचार्यको उम्मेदवारी स्वभाविक भए पनि रणनितीक हुन सक्ने वताउँछन् । संघमा सामान्यतया दुई कार्यकाल उपाध्यक्ष पद सम्हालेको व्यक्तिले नेतृत्व समाल्ने प्रचलन अनुरुप वर्तमान उपाध्यक्ष कुल आचार्यलाई समेत पुनः उपाध्यक्षको नेतृत्व समालेर अर्को १० औँ अधिवेशनमा बलियो उम्मेदवारको रुपमा बाटो खुल्ने छ । तर आचार्यले अर्को कार्यकालमा आफू अध्यक्ष बन्ने ग्यारेन्टी चाहेका छन् ।

नेपाल ब्रिटेनसँग कुरा गर्दै आचार्यले संस्थालाई आँटिलो निर्णय गर्न सक्ने नेतृत्व चाहिने भन्दै त्यसमा आफू योग्य रहेको दाबी गरे । ‘मैले एनआरएन अभियानमा संलग्न भएको दिनदेखि निष्ठापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छु। एनआरएनएलाई अब अगाडि बढाउन सबै साथीहरुको कुरा सुन्ने, विज्ञहरुसँग सल्लाह लिने, तर आँटिलो निर्णय गर्न सक्ने नेतृत्व चाहिन्छ’ उनलेभने, ‘एनआरएनएको स्थापना पनि बेलायतबाटै भएको हो, त्यसैले यसपटक बेलायतले नै त्यो अवसर पाउनेमा म ढुक्क छु।’

आचार्यले गत मार्च महिनामा भट्टसँग काठमाडौंको सोल्टि होटलमा भएको भेटमा भट्ट अध्यक्षमा पुनः उम्मेदवार भएमा आफूले सघाउने बचन दिएका थिए । संघका सचिब डिबी क्षेत्री सहितको बैठकमा आचार्यले भट्ट नउठे आफ्नो उम्मेदवारीलाई समर्थन गर्न समेत आग्रह गरेका थिए । सो कुराको पुष्टि क्षेत्रीले गरेका हुन् । आचार्यलाई पूर्वअध्यक्ष जीवा लामिछाने विरोधी एक समूहको साथ रहेको छ ।

राजनीतिक दलको भूमिका के हुन्छ ?
एनआरएनको विधानले प्यानल बनाएर चुनाव लड्न पूर्ण रुपमा बञ्चित गरेको छ । तर, दलीय उम्मेदवारीको सम्भावना निकै कम हुन्छ, पछिल्ला निर्वाचनको तथ्यले समेत त्यही देखाउछ ।

उम्मेदवारहरु पार्टीका नेताहरुको ढोका ढक्ढक्याउन पछि पर्दैनन् । तर मतदान हुने बेलामा राजनीतिक दलको भूमिका न्युन हुने गरेको छ । विश्व सम्मेलनमा नेपाली कांग्रेस सम्बद्ध प्रतिनिधिहरुबीच आन्तरकि विवादका कारण एकता देखिँदैन । नेकपा समर्थकहरु भने प्राय एक भएर प्रस्तुत गरेका छन् । उनीहरु कांग्रेस भित्रको विवादको फाइदा उठाउँदै आफ्ना उम्मेवार जिताउन माहिर मानिन्छन् ।

तर यसपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा लोकतन्त्रवादीहरुले जित हात पारे पछि विश्वभर छरिएका कांग्रेस समर्थहरु उत्साहित भएका छन् ।
उनीहरुले अमेरिकामा जस्तै एक भए आफ्नो उम्मेदवारले जित्न सक्ने दावी गर्दै हिँडेका छन् । वर्तमान उपाध्यक्ष कुल आचार्यले कांग्रेसको त्यही मनोविज्ञान बुझेर, आफू कांग्रेसको उम्मेदवार हुन चाहेको गत हप्ता डेनमार्कमा सम्पन्न नेपाली कांग्रेसको प्रशिक्षण तथा विश्वभेलामा वताएका थिए ।

२४ देशका २१८ जना प्रतिनिधि रहेको सो भेलामा बोल्ने अधिकांशले नेपाली कांग्रेसको नेतृत्वमा एनआरएनले चुनाव लड्नु पर्ने विचार राखेका थिए । देशमा वाम सरकारको ज्याजती भएको भन्दै एनआरएनभित्र वामपन्थी उम्मेदवारलाई मतदान गर्न नहुने तर्क गरेका थिए ।
प्रशिक्षणमा सहभागी एक नेताका अनुसार आचार्यले अध्यक्षमै उम्मेदवारी दिने कुरामा आशंका गर्दै अध्यक्षमा बाहेक अन्य पदमा उम्मेदवारी दिए पार्टीले सहयोग नगर्ने जनाउ दिएका थिए । आचार्यले पार्टीले उम्मेदवार बनाए चुनाव लड्न तयार रहेको वताएका थिए तर त्यहाँ उपस्थित नेताहरुले पार्टी आधिकारिक उम्मेदवार घोषणा गर्न नमिल्ने तर आचार्यले उम्मेदवारी दर्ता गरेमा सहयोग गर्ने बचन दिएका थिए । कतिले डेममार्कको प्रशिक्षण कार्यक्रम एनआरएन विश्वसम्मेलनको लागि काँग्रेसभित्रको पूर्वतयारीका रुपमा समेत विश्लेषण गरेका छन् ।

यद्यपि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले प्रशिक्षण कार्यक्रम भएको हुनाले कतिपयले एनआरएनको निर्वाचनको विषयमा प्रवेश नगर्न आग्रह गरेका थिए ।
विदेशस्थित जनसम्पर्क समिति भित्रको गुटउपगुटलाई राम्रैसँग नियालेका उपसभापति निधिले ‘पहिला तपाइँहरु एक भएर आउनुहोस् अनि पार्टीले विचार गर्छ’ भन्दै एनआरएन निर्वाचनको प्रसंगलाई टुंगाइदिएका थिए ।

नेपाली कांग्रेसको अन्तरिक संरचनामा हाल विद्यमान ७ वटा गुटउपगुटका प्रतिनिधिहरु समेत भेलामा सहभागि थिए । नेपाली कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिहरु बेल्जियम, क्यानाडा, जापान र अमेरिका भित्रको किचलोका कारणले एनआरएन महाधिवेशन प्रतिनिधिहरु समेत प्रभावित हुने वताइन्छ ।

त्रिपक्षीय भिन्डन्तमा को अगाडी ?

भट्ट, पन्त र आचार्यको त्रिपक्षीय भिन्डन्तको सम्भवना नकार्न सकिँदैन । त्रिपक्षीय भिडन्त भए संघको निर्वाचनमा राजनीतिक दल र जातीय भोट निर्णयक रुपमा रहने छ । यो अवस्थामा शेष घले समूहले कस्लाई सर्मथन गर्छ ? (जसको चर्चा माथि नै गरिसकिएको छ) त्यसको महत्वपूर्ण अर्थ रहने छ भने नेपाली कांग्रेस समर्थक तीनवटै उम्मेदवारको पक्षमा बाँडिने छन् ।
नेपाली कांग्रेसको पहिलो ठूलो हिस्ताको पहिलो च्वाइस कुल आचार्य हुनेछन् भने बाँकी भोट पन्त र भट्टलाई बाँडिने छन् । वामपन्थीहरुको भोट भने एकै ढिक्का भएर पन्तको पक्षमा जानेछ ।
पन्त व्यवहारिक र मिलनसार व्यक्ति भएको कारणले लोकतन्त्रवादीहरुसंग समेत लोकप्रिय छन् । गैरआवासीय नेपाली संघको मूलधारमा कार्यरत कांग्रेस समर्थकहरु पार्टी निर्णय मान्न तयार देखिदैनन् । उनीहरुले गैरआवासीय नेपाली संघको अभियानको परम्परा अनुरुप नेतृत्व चयन हुनु पर्नेमा जोड दिन्छन् ।


कुमार पन्तको टीम कस्तो बन्दैछ ?

अध्यक्ष पदका दाबेदार पन्तले आफूले औपचारिक रुपमा कुनै टीमको घोषणा नगर्ने वताएका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमले गत महिना आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै पन्तले आफूले नेतृत्व लिनकै लागि प्यानल नबनाउने घोषणा गर्दै केही सकृय र सक्षम व्यक्तिहरुलाई समेटेर लैजाने प्रतिबद्धता जनाएका थिए ।
पन्त निकटस्थका अनुसार संघको महत्वपूर्ण मध्यका दुई पद महासचिव र कोषाध्यक्ष पद बाहेक अन्य पदमा खुल्लै राख्ने योजना पन्तको छ ।
पन्तले गैरआवासीय नेपाली संघका पूर्वप्रवक्ता तथा सल्लाहकार डा. हेमराज शर्मा र कोषाध्यक्षमा जापान कर्मथलो बनाएका सकृय व्यवसायी महेश श्रेष्ठलाई टिममा लिएर जाने बताएका छन् । डा शर्मा एनआरएनभित्रको प्लान सेटरका रुपमा चिनिन्छन् ।

डा. शर्मा गैरआवासीय नेपाली संघ भित्र साझा उम्मेदवार बन्न सक्ने भएकै कारण पन्तको पहिलो रोजाइमा परेका हुन् । विधान समितिका संयोजक समेत रहेका डा.शर्माले पूर्वअध्यक्ष शेष घलेद्धारा प्रस्तावित भिजन २०२० लाई संघको विधानमा भित्र्याउन सहयोग गरेका थिए । डा. शर्माले वर्तमान अध्यक्ष भवन भट्टसँग एनआरएनए जापानको कार्यसमितिमा सँगै काम गरेका थिए ।
पछिल्लो निर्वाचनमा भट्टलाई अध्यक्ष बनाउन समेत भूमिका खेलेका डा. शर्मालाई धेरैले बुझेका छन् । अध्यक्ष भवन भट्टकै कार्यकालमा शर्माले नेपालमा विज्ञ सम्मेलन गरेका थिए ।
उनी सबैलाई समेटेर लैजान सक्ने सालिन र सक्षम व्यक्तिको रुपमा चिनिन्छन् ।
यता श्रेष्ठ जापानमा निकै सफल र इमान्दार व्यवसायीको रुपमा चर्चामा छन् । पन्तले मुख्यतः गत निर्वाचनमा पराजित भएको ठूलो समुहलाई संघको मुलधारमा ल्याउन चाहेका छन् ।

कुन कुन पदमा निर्वाचन हुन्छ ?
संघको आगामी महाधिवेशनमा ठूलो संख्यामा उपाध्यक्षको लागि निर्वाचन हुने भएको छ । १ महिला उपाध्यक्ष सहित ५ जना उपाध्यक्ष पदमा निर्वाचन हुने छ ।
उपाध्यक्ष पदको संख्या धेरै भएकोले सबैलाई समेट्न सकिने पद सिर्जना भएकाले अध्यक्षमा समेत सर्वसम्मत हुन सक्ने धेरैको अनुमान रहेको छ । यस्तै महासचिव १ , सचिव २, कोषाध्यक्ष र सहकोषाध्यक्ष १, क्षेत्रीय संयोजक ५, उपसंयोजकहरु, युवा र महिला संयोजकको लागि संघको महाधिवेशनमा निर्वाचन हुने छ ।

अन्यपदमा क–कसको दावी ?
उपाध्यक्ष पदमा वर्तमान महासचिव डा. बद्री केसी, सोनाम लामा, आरके शर्मा, किरणविक्रम थापा, नरेन्द्र भाट, हिक्मत थापा, महिला उपाध्यक्षमा सपिला राजभण्डारी, रजनी प्रधान छन् । महासचिवमा जानकी गुरुङ, डिबी क्षेत्री, केशव पौडेल लगायतको चर्चा छ । सचिवमा गौरीराज जोशी र शिव वरुवालले दावी गरिसकेका छन् । सहकोषाध्यक्षमा एसी शेर्पा र कोषाध्यक्षमा सोम सापकोटा (डेनमार्क) ले इच्छा देखाएका छन् ।
संघको अन्य पदाधिकारीको आकांक्षीमा खगेन्द्र जिशी (अमेरिका), भूषण घिमिरे (जापान), संगीता मरहठ्टा (युके), धर्मराज अधिकारी (अष्ट्रेलिया), श्याम तामाङ (अमेरिका), किरण थापा (जापान), एकराज गिरी (स्पेन), गोविन्द गौतम (रसिया) रामशरण सिमखडा (युके), कृष्ण तिमल्सिना (युके), छन् । संघको महाधिवेशनको मिति नजिकिँदै गर्दा थप उम्मेवारी आउने सम्भवना पनि उत्तिकै छ ।

अगामी १३ देखि १६ अक्टोवरसम्म काठमाडौमा एनआरएनको नवौं विश्व सम्मेलन गर्ने तय भएको छ ।

जसअनुसार एनआरएन केन्द्रले विश्वभर छरिएका ८० वटा राष्ट्रिय समितिलाई केन्द्रिय सदस्यता वितरण प्रणालीमा आबद्ध गर्दै राष्ट्रिय समितिहरुलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै निर्वाचन पनि शुरु भएका छन् ।

संघको निर्वाचन १ सय भन्दा बढी मतदाता रहेका कारणले महत्वपूर्ण भूमिका निवार्ह गर्ने राष्ट्रिय समिति अमेरिका, अष्ट्रेलिया, युके, जापान, कतार, बेल्जियम, युएई, कक्यानाडा, जर्मनी, पोर्चुगल लगायतका देशमा निर्वाचनको चटारो छ । अमेरिकाको निर्वाचन सम्पन्न भैसकेको छ भने अन्य देशले आफ्नो निर्वाचन तालिका प्रकाशन गरेका छन् ।