८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनमा एसिया प्यासिफिक क्षेत्रको उलेख्य भूमिका छ : संयोजक थापा

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार १२:५४

सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठक आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ । यसै सन्दर्भमा हामीले एसिया प्यासिफिक क्षेत्रका आरसी किरण विक्रम थापासँग विशेष कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी कस्तो चल्दैछ ?
यसपटकको बैठक हामीले म्यानमारको याङगुनमा गर्दैछौँ । जुलाई ६ र ७ बैठकको मिति समेत तय भइसकेको छ । र तयारी तीव्र गतिमा चलिरहेको छ । हाम्रो विभिन्न समिति, उपसमिति बनाएर कामको बाँडफाँड गरेका छौँ उहाँहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ । र म्यानमारमा चाहिँ त्यहीका एनसीसी अध्यक्ष एस.पी क्षेत्रीले त्यहाँको सम्पूर्ण संयोजन गरिरहनु भएको छ । म्यानमारका महामहिम भीम उदास ज्यूको सहयोगले हामीलाई काममा थप सहयोग मिलेको छ । जसले हाम्रो तयारीमा थप टेवा पुगेको छ । यसका साथै बैठकमा उपस्थितीका लागि निमन्त्रणा गर्ने काम भइरहेको छ । हामीले हाम्रा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकार, वर्तमान अध्यक्ष लगायत पदाधिकारीहरु एवं अन्य आइसीसी तथा एनसीसी पदाधिकारीहरु लगायत नेपाल सरकारका विशिष्ट व्यक्तित्वलाई निमन्त्रणा गरिसकेका छौँ ।

बैठकको मुख्य उद्देश्य के हो ?
विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो । यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुनेछ । बैठकमा ठूल–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ । यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिनेछ । यस्तै छैठौँ बैठकले घोषणा गरेका वा भनौँ विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्यौँ या सकेनौँ भन्ने समिक्षा समेत गर्नेछौँ । यस क्षेत्रमा रहेका नेपालीको पूँजी, ज्ञान र सीपलाई नेपालको समृद्धिको क्षेत्रमा उपयोग गर्नका लागि एनआरएनको भुमिका कस्तो रहनुपर्ला भन्ने बारेमा छलफल गर्नेछौँ । गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेका छन् । यसले नेपालको विकासमा केही सहयोग पनि पुगेको छ । यसर्थ पनि यो बैठक राष्ट्र निर्माण र लगानी प्रवद्र्धनमा कोसेढुंगा हुनेमा हामी विश्वस्त छौँ । यसका साथै एसिया प्यासिफिक क्षेत्रमा १० भन्दा बढी मुलुक छन् र ती क्षेत्रमा रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँधेर नेपालको समृद्धिका लागि उनीहरुको योगदान के–कस्तो हुन सक्छ भन्ने विषयमा हामीले बृहद् छलफल गर्नेछौँ ।

म्यानमारमा नेपालीहरुको इतिहास लामो छ, यसर्थ पनि बैठकले त्यहाँका सबै नेपालीलाई कसरी समेट्छ ?
पक्कै पनि, म्यानमारमा नेपालीहरुको इतिहास निकै लामो छ । विभिन्न कारणले म्यानमार पुगेका नेपालीहरु त्यहाँ छन् । उनीहरु सबैको अवस्था एकै किसिमको छैन । सामान्य मजदुरी गरी जिविका चलाउनेदेखि रुबी व्यवसायी त, कोही राजनीतिक, सामाजिक तथा व्यवसायिक हिसाबले निकै माथि पनि पुगेका छन् । सबैभन्दा राम्रो पक्ष भनेको म्यानमारका सबै नेपालीहरु आफ्नो कला, संस्कृति, भाषा, परम्परा अनुसारकै चाडपर्व मनाउने गर्छन् । बर्मा सरकारले पनि नेपाल र नेपालीहरुको लागि धेरै नै साथ सहयोग दिँदै आएको छ । यसर्थ म्यानमार र नेपालको सम्बन्ध पनि राम्रो छ । छिमेको राष्ट्रबीच एक–अर्कालाई पर्दा सहयोग गर्ने भावना दुवै देशहरुको रहेको छ र गर्दै पनि आएको छ । तसर्थ हामीले पनि यस पटकको बैठक म्यानमारमा रहेका गैरआवासीय नेपाली समुदायको बारेका थप बुझ्ने, उनीहरुको अवस्था, समस्या र सबैभन्दा ठूलो कुरा त्यहाँ रहेका दोस्रो पुस्तालाई नेपालमा आउने, नेपालप्रति अपनत्व महसुस गराउने लगायतका कुरामा पनि केन्द्रित रहनेछ । त्यहाँको घरेलु तथा मझैला व्यवसायलाई नेपालम कसरी भित्र्याउने भन्ने विषयमा पनि हामी छलफल केन्द्रित गर्नेछौँ ।

बैठकका मुख्य एजेन्डाहरु के–के तय भएका छन् ?
हाम्रो मुख्य विषय भनेको नेपालको समृद्धिमा डायस्पोराको भूमिका कस्तो रहन्छ भन्ने नै हो । यसका साथै कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरुको लागि श्रम बजार, त्यहाँका युवा तथा महिलाको सशक्तिकरण लगायत विषयमा पनि घनीभूत छलफल हुनेछौँ । साथै आर्थिक प्रवद्र्धन र पूँजी, ज्ञान तथा सीप कसरी भित्र्याउने, साना तथा मझौला व्यवसायलाई नेपालको समृद्धिका लागि कसरी उपयोग गर्ने तथा नेपाललाई अन्य एसियाली मुलुकसँग कसरी जोड्ने भन्ने सन्दर्भमा पनि छलफल हुनेछ । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०को प्रचारप्रसार गर्ने र त्यसका लागि यस क्षेत्रमा रहेका नेपाली सहित यहीका नागरिहरुलाई समेत नेपाल घुम्न प्रोत्साहन एवं गर्ने अनुरोध गर्ने सम्बन्धी विषयबस्तु समेत समेटेका छौँ । साथै आगामी अक्टोबरमा नेपालमा आयोजना हुने ग्लोबल सम्मेलनका लागि एसिया प्यासिफिक क्षेत्रबाट ध्यानाकर्षण गराउनुपर्ने विषयवस्तुमा समेत हामी घनीभूत छलफल गर्नेछौँ ।

बैठकमा कति सहभागी हुनेछन् ?
म्यानमार सहित थाइल्याण्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरिया सहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्र लगायत अन्य राष्ट्रका पदाधिकारीहरुको समेत सहभागिता रहनेछ । साथै संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष सहितका अधिकांश पदाधिकारी, नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुना एवं प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधी, साथै अन्य व्यवसायिक विशिष्ट व्यक्तित्व, म्यानमारका महामहिम, नेपाली समुदाय सञ्चारकर्मी लगायत आइसीसी र विभिन्न एनसीसीका प्रतिनिधीसहित करीब पाँच सय जनाको सहभागिता रहने हाम्रो अनुमान छ ।

अन्त्यमा ?
हामीले जसरी एसिया प्यासिफिक क्षेत्रलाई मुलुकको समृद्धिको दृष्टिकोणले क्रियाशिल बनाउने कोसिस जारी राखेका छौँ यसपटक पनि हाम्रो त्यो प्रयास जारी रहने छ । यस क्षेत्रमा छरिएर रहेको पूँजी, यस क्षेत्रमा रहेका नेपाली जसको कृषि, व्यापार व्यवसाय र अन्य विविध क्षेत्रमा दक्षता हासिल गर्नुभएको छ त्यो दक्षतालाई नेपालको समृद्धिका लागि कसरी प्रयोग गर्ने र त्यसका लागि विगतमा भएका प्रयासलाई कसरी अबका दिनमा पनि निरन्तरता दिने भन्ने सन्दर्भमा हामी एउटा विशेष फोरममा छलफल गर्न गइरहेका छौँ । तसर्थ यस विशेष अवसरमा सहभागि भई बैठकलाई सफल बनाइदिनु हुन म सम्बद्ध सबै महानुभावहरुलाई विशेष अनुरोध गर्दछु ।