१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजनीति विचार र आस्थाका आधारमा कर्मचारी सरुवा गरियो: सभापति देउवा

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार १४:३३

काठमाण्डौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताउनुभएको छ । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उहाँले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरिएको आरोप लगाउनुभयो ।

“कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा सरुवा बढुवा गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जनताको काममा बढी आवतजावत हुने क्षेत्र स्थानीय सरकार भएकाले जनतालाई राम्रो व्यवहार गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो ।

जनताको जनताको काम गरेर पार्टीलाई बलियो बनाउन स्थानीय कर्मचारी युनियनको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । सभापति देउवाले वर्तमान सरकारले लोकतन्त्रको मर्म र भावनाविपरीत प्रेस स्वतन्त्रता, मानव अधिकारलाई खोस्न खोजेको आरोप लगाउँदै मानव अधिकार र प्रेस स्वतन्त्रताका पक्षमा काङ्ग्रेसले संसद् र सडकमा आन्दोलन गर्ने बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानअनुसार निर्माण भएको सङ्घीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिकका रहेको बताउनुभयो । “सङ्घीयतालाई साकार बनाउने जिम्मा स्थानीय तहका कर्मचारीको हो, स्थानीय तहका कर्मचारीले जनताका पक्षमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले स्थानीय तहमा निजामती कर्मचारी र स्थानीय तहले भर्ना गरेका दुई खाले कर्मचारी राखेर सरकारले कर्मचारीलाई विभेद गर्न खोजेको बताउनुभयो । सरकारलाई व्यवस्था र परिवर्तनप्रति चिन्ता नभएको उहाँको भनाइ छ ।

नेता पौडेलले सरकारले लामो समयको सङ्घर्षपछि ल्याएको परिवर्तनलाई सङ्कटमा पार्न खोजेको भन्दै काङ्ग्रेस काङ्ग्रेसलाई सत्ताकोभन्दा पनि व्यवस्था जोगाउने चिन्ता रहेको बताउनुभयो । काङ्ग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइ जनमत पाएको शक्तिशाली सरकारले कर्मचारी समायोजनको विषयमा ढिलासुस्ती गरिरहेको बताउनुभयो । “दुई तिहाइको आडमा सरकारले सङ्घीयता कार्यान्वयनमा आलटाल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष पुस्कर आचार्यले नेपाली काङ्ग्रेसले पनि स्थानीय तहमा तत्काल सङ्गठन निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । “पार्टीको सङ्गठन बलियो बनाउन पार्टीको स्थानीय सङ्गठन र स्थानीय कर्मचारी एकजुट भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०का अध्यक्ष गोपाल पोखरेलले कर्मचारी समायोजनमा कर्मचारीको मनोबल उच्च हुने खालको काम सरकारले गर्न नसकेको बताउनुभयो ।
स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, काङ्ग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले कर्मचारीको हक अधिकारलाई कुण्ठित गर्ने गरी कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको बताउनुभएको थियो ।

स्थानीय तहमा कार्यरत कर्मचारीले ऐन र कानूनविपरीतको काम नगर्नेसमेत उहाँहरुले सुझाव दिनुभएको थियो । आजदेखि शुरु भएको कार्यशाला गोष्ठी दुई दिनसम्म चल्ने युनियनका महासचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।