१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन अध्यक्षका तीन दाबेदार एकै मञ्चमा, आफ्नो पक्षमा माहोल बनाउने प्रयास

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार १५:३६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका तीन दाबेदार एकै मञ्चमा देखिएका छन् ।
वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन ओमान) ओमानको पाँचौ महाधिवेशनका क्रममा सँगसँगै देखिएका हुन् । तीनै जनाआगामी विश्व सम्मेलनबाट नेतृत्वमा आउने तीब्र लबिङमा रहेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै उनीहरु कसैले पनि आगामी कार्यकालमा नेतृत्वमा आउनेबारे मुख नखोलेपनि आफ्नो पक्षमा माहोल बनाउन भने भरपुर प्रयास गरे ।

क्लबका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले संस्थालाई उचाइ दिन आफू अनवरत रुपमा लागिपरेको बताए । यस्तै एनआरएनको मुद्दा स्थापित गर्न नेपाल सरकारसँग निरन्तर लबिङ गरिरहेको पनि उनले बताए । उनले संस्थामा केही पाउन भन्दा पनि दिनका लागि सबैले सक्रियता जनाएको बताए ।

‘गभरमेन्टसँगको लबिङ नै हाम्रो मूल एजेण्डा हुन्छ । हामीमा संस्थालाई केही दिनका लागि तछाडमछाड छ । यसमा कति टाइम दिनुपर्छ, खर्च हुन्छ त्यसको हिसावकिताव छैन’ उनले भने, ‘केही गर्न नसके दोष पनि खानुपर्छ । हामी यति रिस्क लिएर संगठनमा लागेका छौं ।’
भट्टले ओमान लगायतका गाडी मुलुकमा श्रमिकको अनेकन समस्या रहेको भन्दै त्यसको समाधानमा एनआरएनले पनि समन्वय गरेर अघि बढ्ने बताए ।

यसैगरी उपाध्यक्ष कुमार पन्तले समस्या जतासुकै रहने भन्दै ओमानले समस्या समाधानका लागि खेलेको भूमिकाले अन्तरराष्ट्रिय समितिमा ठूलो अर्थ राख्ने बताए । ओमानको काममा आफ्नो हरतरहले सहयोग रहने भन्दै पन्तले परोपकारी कोषका लागि आफूले २ हजार डलर सहयोग गरेको पनि घोषणा गरे ।

यस्तै एनआरएनलगानी कोषमार्फत साना लगानी कर्तालाई आकर्षित गर्नेगरी काम थालिएको जानकारी दिँदै त्यसका लागि कम्पनीमार्फत शेयर आह्वान गरिने बताए ।
समृद्ध नेपालको लागि धनले मात्रै नभएर ज्ञान, सिप र प्रविधिको पनि जरुरी रहेको भन्दै पन्तले त्यसतर्फ पनि एनआरएनले पहल गरिरहेको बताए ।
यस्तै उपाध्यक्ष कुल आचार्यले मध्यपूर्वको समस्या समाधान गर्न नेपाल सरकारको समन्वयमार्फत काम गर्नुपर्ने जरुरी रहेको बताए ।

यस्तै उनले मर्यादित र सुरक्षित ढंगले विदेशमा श्रम गर्ने वातावरण बनाउनुपर्ने पनि बताए । यस्तै आचार्यले ओमान क्लबलाई एक हजार डलर सहयोग गरेका थिए ।
एनआरएनए ओमान २७ फेब्रुअरी २०१७ मा ओमानमा बिधिवत रुपमा दर्ता भए पछि एनआरएन सोसल क्लबको रुपमा कार्यरत रहेको छ ।

महाधिबेशनको प्रमुख अतिथि राजदुत शर्मिला पराजुली ढकाल रहेकी थिइन् भने कार्यक्रममा एनआरएन अगुवा, नेतृत्वका आकाक्षी र आइसीसी पदाधिकारीहरु सहभागि रहेका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य,एनआरएनए बेल्जियमबाट सल्लाहकार गोविन्द सुवेदी, एनआरएनए मध्यपूर्व संयोजक आर के शर्मा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएनए आईसीसी सदस्यहरू मनोज गोर्खाली, जोन अर्याल,कमल श्रेष्ठ, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए मध्यपूर्वका पूर्वसहसंयोजक तथा वर्तमान आइसीसीका मानार्थ सदस्य राजु सैयद, बहराइनबाट दुर्गा गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरीलगायत पदाधिकारीलगायत सहभागी रहेका थिए ।

यसैबीच ओमानको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अहिलेको कार्यकालका कोषाध्यक्ष क्याप्टेन सेवन्त पुर्जा पुन नयाँ अध्यक्षको रुपमा सर्बसर्बसम्मत चुनिएका हुन् ।