१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मोना यूकेको दोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ असार २०७६, शुक्रबार २१:१८

तस्विर : शिव भण्डारी

अल्डरसट । मोना यूकेले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता आइतबार अल्डरसटमा सम्पन्न भएको छ । प्रतियोगितामा महिलातर्फ सालिजा टिम, पुरुषतर्फ बाग्लुंग भलिबल टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका छन् ।

त्यस्तै, छेलो फाल्ने प्रतियोगिता ३४ प्रतिस्पर्धीलाई पछि पार्दै गोर्खा ब्रिगेड ब्याण्डका हिरा गुरुङले जितेका छन् । उनले २ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरे ।

अल्डरसटको कनर्ट स्कुलको मैदानमा भएको खेलमा महिला तथा पुरुष दुवै विधामा आयोजक मोना यूके टिम दोस्रो बनेको थियो । भेटेरानतर्फ भने फाइनलमा विजेता ग्रीनवीचसंग स्वीण्डनको टिम पराजित बनेको थियो । पुरुष विधाको विजेताले १४ सय पाउण्ड नगद, ट्रफी, प्रमाणपत्र र रनिंग शिल्ड प्राप्त गरे । उपविजेताले ८ सय ५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाए । विजेताले प्राप्त गरेको शिल्ड मोना यूके उपाध्यक्ष होम रोकाले प्रायोजन गरेका थिए ।

१६ वटा टिमको सहभागिता रहेको पुरुष विधामा बाग्लुंगका शंकर थापा बेस्ट प्लेयर अफ द टुर्नामेन्ट भए भने मोनाका खेम भण्डारी बेस्ट बल्कर, रुद्र राना बेस्ट लिफ्टर र बाग्लुंगका प्रविन मल्ल बेस्ट स्पाइकर बन्न सफल भए ।

महिला विधाको विजेता सालिजा टिमले नगद ६ सय पाउण्ड , ट्रफी र प्रमाणपत्र तथा उपविजेता आयोजक मोना टिमले ४ सय पाउण्ड नगदसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे । उपविजेताको पुरस्कार एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले प्रायोजन गरेका थिए । ६ टिमले भाग लिएको महिला समुहमा सालिजाकी सञ्जु थकाली बेस्ट प्लेयर अफ द टुर्नामेन्ट र विष्णु पुन बेस्ट स्पाइकर तथा मोनाकी लारा बेस्ट बल्कर र विन्चेस्टरकी यामु फगामी बेस्ट लिफ्टर बने ।

भेटेरानतर्फ विजयी ग्रीनवीच टिमले नगद ७ सय पाउण्ड, ट्रफी, प्रमाणपत्र तथाच उपविजेता स्वीण्डनले ४ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार प्राप्त गरे । उपविजेताको पुरस्कार एनआरएन यूके उपाध्यक्ष प्रेम गाहाले प्रायोजन गरेका थिए । ९ टिम सहभागी भेटेरान समुहमा ग्रीनवीचका ठाकुर गुरुङ प्लेयर अफ द टुर्नामेन्ट र बेस्ट लिफ्टर बन्न सफल भए भने ग्रीनवीचकै संजयदेव श्रेष्ठ बेस्ट बल्कर तथा स्वीण्डनका कृष्ण शेरचन बेस्ट स्पाइकर बने ।

प्रतियोगिताका विजेताहरुलाई आयोजक मोना यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि काउन्सिलर प्रवेश केसी, विशिष्ट अतिथि एनआरए यूके अध्यक्ष योगकुमार फगामी र उपाध्यक्ष प्रेम गाहा मगर, ब्रिटेनका अन्तर्राष्ट्रिय खेलाडी नेत्र राना एमबिई, नेपालका पूर्व सांसद नरबहादुर पुन, सेफ एशोसिएसन यूके अध्यक्ष दधि आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

म्याग्दीका भूपू खेलाडहिरुलाई रेफ्रीको अभिभारा दिइएको खेलमा प्रमुख रेफ्रीको भुमिका विनेद चन्द र जिवन गुरुङले निभाएका थिए ।

मोना यूके अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका मुख्य संयोजक उपाध्यक्ष होम रोकाले स्वागत मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रम सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए ।