१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी : पूर्वराष्ट्रपति यादव

sarusaru
१४ असार २०७६, शनिबार ०५:३२

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देही शाखाद्वारा बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताए।

लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राखे ।

उनले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रकृयाबाट हल गर्नुपर्छ”, उनले भने।

मुलुकमा लोकतन्त्र स्थापना गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेकाले लोकतन्त्रको पहरेदार बनेर यसको रक्षा गर्नुपर्ने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । “पत्रकारहरुलाई नै देशको विषयमा बढी जानकारी छ ।

के सही के गलत छुट्टयाएर खबरदारी गर्नुपर्छ”, उनले भने । अझैपनि मुलुकमा स्थायी शान्ती कायम नभएका कारण सबै सचेत रहनुपर्नेमा उहाँले जोड दिए । सत्य निरुपण र वेपत्ता अयोगलाई सक्रिय बनाई राष्ट्रिय स्तरबाटै समस्याको हल खोजिनुपर्ने पूर्वराष्ट्रपति यादवले बताए ।

“पहाड र मधेशलाई जोड्ने गरी काम गर्नुपर्छ । यहाँ कसैले शोषण गरेको छैन । राजनीतिक शोषण भएको हो”, उनले भने, “संविधान निर्माणसँगै अहिले मुलुकमा परिवर्तन आएको छ ।” पूर्वराष्ट्रपति यादवले पहाड र तराईमा ताल तलैया धेरै भएकाले यसको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

पर्यावरणको उचित संरक्षण नभए भविष्यमा सङ्कट उत्पन्न हुने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ थियो। पाल्पामा आयोजना गरिएको दलित पत्रकारहरुको भेलामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पूर्वराष्ट्रपति यादव आज रुपन्देही आएका हुन्।
डिसी नेपाल