१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुधारिदै धौलागिरी अञ्चल अस्पताल

sarusaru
१४ असार २०७६, शनिबार ०५:३७

धौलागिरी अञ्चल अस्पताल बागलुङमा सेवा प्रवाह थपिए सँगै बिरामीको चाप बढ्न थालेको छ । अस्पतालले बिशेषज्ञ चिकित्सक भित्राएर सबै प्रकारका सेवा अस्पताल भित्रै दिन थालेको छ । उपचार पाइने आसले पोखरा जाने बिरामीहरु पनि यही आउन थालेका हुन् । केही समय अघिसम्म अस्पतालमा उपचार नभएको, आएका बिरामीलाई पनि रिफर मात्र गरिएकोले नकारात्मक भ्रम फैलिएको थियो । केहीसमय देखि अस्पतालमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी फिजिसियन, एनेस्थेसियोलोजिष्ट, सर्जन, नाक कान घाँटी बिशेषज्ञ, बालरोग विशेषज्ञ, रेडियोलोजिष्ट लगाएका बिशेषज्ञ भित्रिएका छन् ।

जिल्लामै बिशेषज्ञ सेवा पाउन थालेपछि बिरामीले पनि अस्पताललाई हेर्ने दृष्टीकोण फेरिएको छ । ‘अस्पतालमा बिरामीले उपचार पाउनुपर्छ, फर्काउने होइन भनेर बिशेषज्ञ खोजेर ल्याएका हौं’ अस्पताल बिकास समितिका अध्यक्ष केवी राना मगरले भने, ‘काम गर्ने जोश र जाँगर भएकाहरुलाई मात्र यहाँ प्रवेश दिइनेछ ।’ समितिले केही कर्मचारी करारमा नियुक्ती गरेको आरोप भने लागेको छ । समितिले भने स्वयंसेवकको रुपमा नियुक्त गरिएको बताएको छ । अस्पतालको तथ्यांक अनुसार केही समय अघिसम्म दैनिक ५० देखि ६० बिरामीको मात्र उपचार हुने गरेकोमा अस्पतालमा सुधार आएपछि दैनिक ३ सय जनासम्म बिरामी आउने गरेका छन् । आएका बिरामीलाई सहजै उपचार गर्नका लागि बी ब्लकबाट बिशेषज्ञ सेवा र ओपिडी सेवा दिन थालिएको हो । ‘अब एउटै डाक्टरले सवै रोगका विरामीको उपचार गर्नु पर्दैन’ मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले भने, ‘टिमवर्क भयोभने काम गर्न सजिलो हुन्छ ।’

अस्पतालमा उपकरण र भवनका कोठा समेत प¥र्याप्त हुन थालेको उनले बताए । अस्पतालको ‘ए’ ब्लकबाट मात्र सेवा सुविधाहरु दिँदै आइरहेकोमा अबदेखि बी ब्लकमा पनि सेवा सुरु भएको हो । अस्पतालभित्रै निशुल्क औषधि बितरण कक्ष र फार्मेसी छुट्टाछुट्टै कोठाबाट दिन थालिएको छ । अस्पतालले ल्याबलाई पनि व्यवस्थित बनाएर बी ब्लक भित्रै सारेको समितिका सदस्य शालिकराम शर्माले बताए । हाल यहाँ प्रमुखसहित ९ जना विशेषज्ञ चिकित्सक र १४ जना मेडिकल अधिकृत गरी २३ डाक्टर कार्यरत छन् । अस्पतालमा ल्याब हेर्न स्वास्थ्यकर्मीको भने अझै अभाव छ ।
जनमञ्च