February 17, 2020

गैर–आवासीय नेपाली संघ बेलायतको कोषाध्यक्ष पदमा खकुरेलले उम्मेद्धारी दिने

  29th June 2019 मा प्रकाशित

गैर–आवासीय नेपाली संघ बेलायतको आगामी चुनावमा वर्तमान कार्यसमितिका सदस्य राजन खकुरेलले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् । उनले एनआरएनए यूकेको च्यारिटी कमिशनमा फण्डरेजिङ कोअर्डिनेटरको भूमिका पनि खेलेका थिए ।

बेक्स्ली समाज यूकेद्धारा गत शनिवार साउथ–इस्ट लण्डनको वेलिङमा आयोजित बार्षिक भेटघाट कार्यक्रममा खकुरेलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् । उनले एनआरएनए यूकेका अग्रजहरु, अभियन्ताहरु र बेलायतमा रहेका बिभिन्न संघसस्थाका नेतृत्वको सल्लाहमा आफुले उम्मेद्वारी दिएको बताए ।

बुट्स फार्मेसीमा एसिस्टेण्ट म्यानेजरको रुपमा कार्यरत खकुरेल पेशाले स्वास्थ्यकर्मी हुन् र छोटो समयमै उनले एक सफल युवा ब्यवसायीको समेत परिचय बनाएका छन् । खकुरेलको प्लमस्टेडको डाँफे रेस्टुरेण्ट एण्ड बार र वेलिङको मनकामना स्टोर साउथइस्ट लण्डनमा निकै लोकप्रियमध्येमा पर्दछन् ।

सन् २०१० मा बेलायत प्रवेश गरेयता आफ्नो ब्यापार ब्यवसाय बाहेक खकुरेलको समाजसेवामा पनि उत्तिकै लगाव रहेको छ । उनी हाल बुद्द फाउण्डेशन यूकेका कोषाध्यक्ष र नेपाली युथ एशोसियसन यूकेका बरिष्ठ उपाध्यक्ष समेत हुन् । हरेक बर्ष ट्राफल्गर स्क्वायरमा मनाइने बुद्द जयन्ती सफल हुनमा खकुरेलको अग्रिम भूमिका रहिआएको छ । उनकै अग्रिम भूमिकामा निर्माणाधिन कपिलवस्तु वृद्दाश्रमको लागि बुद्द फाउण्डेशनले करिब ३० हजार पाउण्ड सहयोग नेपाल पठाएको थियो ।

बेलायतमा हुने कतिपय खेलकुद क्रियाकलापहरुमा पनि राजन खकुरेलको नाम उत्तिकै जोडिने गरेको छ । हरेक बर्ष खेलाइने ग्रीनवीच कप भलिबल प्रतियोगिताको पनि उनले सन् २०१५ देखि २०१७ सम्म लगातार रुपमा संयोजन गरे । उनी सन् २०१८ बाट भने ग्रीनवीच कपको सहसंयोजक रहेका छन् । लण्डनको विश्वप्रसिद्द लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरेलले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए । त्यस्तै लर्डस् खेलमैदानमै भएको नेपाल, नेदरल्याण्ड र एमसीसी बीचको त्रिकोणात्मक क्रिकेट प्रतियोगितमा पनि राजन खकुरेलको भूमिका कम रहेन ।

समाजसेवा भनेको लिनु होइन दिनु हो भन्ने राम्रा उदाहरणहरु राजन खकुरेलले समाजमा पेश गरेका छन् । खकुरेलले २०१५ सालको महाभूकम्पको चपेटामा परेकाहरुलाई बेलायतस्थित बिभिन्न संघ–सस्थाहरुमार्फत सहयोग राशी संकलन गरी नेपाल पठाएका थिए ।बेलायतमा हुदैआएका धेरैजसो च्यारिटी कार्यक्रमहरुमा खकुरेल सधैं दाता रहिआएका छन् ।

एनआरएनए यूकेले गोर्खा कपमा शुरु गरेको स्वास्थ्य शिविर (हेल्थ क्याम्प) को पनि खकुरेलले गत साल सहसंयोजकको र यस पटक संयोजकको भूमिका निर्वाह गरे ।

आगामी कार्यसमितिमा आफु किन कोषाध्यक्ष रहनुपर्ने भन्ने प्रश्नको जवाफमा राजनले भने, “संस्थालाई आर्थिक रुपमा सबल र पारदर्शी बनाउन, नेपाल हाउस अभियानलाई पुनः निरन्तरता दिन र वर्तमान कार्यकालमा आफ्नै आर्थिक संयोजनमा शुरु गरेको च्यारिटी दर्ता प्रकृयालाई म पूर्णता दिन चाहान्छु ।”

एनआरएनए यूकेको आठौं राष्ट्रिय अधिबेशन आगामी सेप्टेम्बर १४ र १५ मा हुँदैछ र आकांक्षीहरुले बिभिन्न पदहरुमा उम्मेद्धारी घोषणा गर्ने क्रम हाल जारी छ ।

प्रतिक्रिया