१५ बैशाख २०८१, शनिबार
Follow Us

सरकार असफल भएको नेता सिंहको आरोप

नेपालब्रिटेन डट कम्
१४ असार २०७६, शनिबार १९:०६

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा र सुशासनमा सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाको आयोजनामा आज मुर्गियामा ‘लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनका लागि अध्ययनको भूमिका’ विषयक विचारगोष्ठीमा उहाँले मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।
नेता सिंहले सरकारले विधिको शासनलाई समेत लत्याएको उल्लेख गर्दै सरकारले विदेशी लगानी भित्र्याउन नसकेको बताउनुभयो । उहाँले सरकारले विकास बजेट समयमा नै खर्च गर्न नसकेको आरोपसमेत लगाउँदै विकास निर्माणदेखि सबै विषयमा सरकार असफल भएको दाबी गर्नुभयो ।

गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाले लोकतन्त्रमा अध्ययनलाई प्रभावकारी बनाउन भन्दै केही समयदेखि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढाएको छ । सो पुस्तकालयको संरक्षक नेता सिंह हुनुहुन्छ ।
गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाका अध्यक्ष तेजप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सदस्य फकरुद्दिन खाँन, नेपाली काङ्ग्रेसका जिल्लास्तरीय नेता रामचन्द्र ढकाल, फडेन्द्र शर्माले काङ्ग्रेसले आफ्नो कमजोरीको समीक्षा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।